काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वीरगञ्जमा फैलिएको हैजा नियन्त्रणका लागि सरकारले तीनै तहका सुरक्षाकर्मी परिचालन गर्ने बताएका छन्।
शुक्रबार प्रतिनिधि सभामा सम्बोधन गर्दै उनले स्वास्थ्य मन्त्रालयको समन्वयमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका स्वास्थ्यकर्मी, डाक्टर, नर्स र आवश्यक उपकरण परिचालन गरिने बताए। प्रधानमन्त्री ओलीले यस रोग नियन्त्रणका लागि आवश्यक बजेट व्यवस्थापन समेत गरिने जानकारी गराए।
उनले बताएअनुसार, सरकारले हैजाको स्रोत पत्ता लगाउन अनुसन्धान थालेको छ। रोग ढल, खानेपानी वा अन्य स्रोतबाट फैलिएको हो भन्ने छानबिन भइरहेको छ।
“स्वास्थ्य मन्त्रालयको नेतृत्वमा रोग फैलिन नपाओस्, बिरामी छिटो उपचार गरियोस् र रोकथाम सुनिश्चित होस् भन्ने लक्ष्यमा तीव्र प्रयास भइरहेको छ,” प्रधानमन्त्री ओलीले भने।
उनले थपे कि सरकारले हैजा र झाडापखालाका औषधी नि:शुल्क उपलब्ध गराइरहेको छ। नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ भने कोरोनाकालमा निर्माण गरिएको सेनाको अस्पताल पनि उपचारका लागि प्रयोग गरिनेछ।
वीरगञ्जमा हालसम्म ६२४ जना संक्रमित भएका छन्, जसमा ४३७ जना उपचारपछि घर फर्किसकेका छन्। अहिले पनि १८७ जना उपचाररत छन्। पछिल्लो २४ घण्टामा ८४ नयाँ बिरामी थपिएका छन् र ३ जनाको मृत्यु भएको छ।
प्रकाशित मिति: १३ भाद्र २०८२, शुक्रबार












प्रतिक्रिया