काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आगामी २०८४ सालको आम निर्वाचनमा आफ्नै पार्टी देशको पहिलो शक्ति बन्न सक्ने विश्वास व्यक्त गरेका छन्।
शनिबार राजधानीमा आयोजित समाजवादी प्रेस संगठनको कार्यक्रममा बोल्दै उनले जनताको विश्वास जित्दै पार्टीलाई पहिलो शक्तिका रूपमा स्थापित गर्न नेताकार्यकर्ताले अहिलेदेखि नै तयारी सुरु गर्नुपर्ने बताए।
“हामी महत्त्वपूर्ण शक्ति हौं। यदि हाम्रो मन र भावना मिल्नेहरू सँगसँगै आए भने, २०८४ मा पहिलो पार्टीको रूपमा समाजवादी स्थापित हुन सक्छ,” अध्यक्ष नेपालले भने।
उनले चुनाव जित्नका लागि मात्र नभई समाज रूपान्तरणका लक्ष्यसहित राजनीति गर्नुपर्नेमा जोड दिए। राजनीतिलाई परीक्षासँग तुलना गर्दै उनले जनतासँग जोडिनु, विश्वास जित्नु र संगठन विस्तार गर्नु राजनीतिकर्मीको मुख्य कर्तव्य भएको बताए।
“राम्रो काम गर्दा पनि यदि जनताले भोट दिएनन् भने त्यसको अर्थ हुँदैन। शक्ति नभएकोलाई कसैले पत्याउँदैन,” उनले थपे।
उनले समाजवादी मोर्चालाई बलियो बनाउन तथा विचार मिल्ने वाम शक्तिहरूसँग सहकार्य गरेर अघि बढ्ने नीति रहेको स्पष्ट पारे। “हामी एक्लै मात्रै हुने भन्ने होइन, तर अरूसँग नमिल्दा निराश हुने पनि छैनौं। हाम्रो शक्तिमाथि हामीलाई विश्वास छ,” अध्यक्ष नेपालको भनाइ थियो।
प्रकाशित मिति: १४ भाद्र २०८२, शनिबार












प्रतिक्रिया