काठमाडौं । आगामी कात्तिक १७ गते हुने रुपन्देही क्षेत्र नं. ३ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट डा. लेखजंग थापा उम्मेदवार हुने भएका छन् । सिद्धार्थनगर–९, अञ्चलपुरमा जन्मिएका थापा पार्टीको प्राइमरी इलेक्सन मार्फत अन्य आठ प्रतिस्पर्धीलाई पछि पार्दै उम्मेदवार चयन भएका हुन् । यद्यपि निर्वाचन समितिको औपचारिक घोषणा आउन बाँकी छ ।

उपनिर्वाचनका लागि रास्वपाबाट उम्मेदवारी आकांक्षी हुनेमा सिद्धार्थनगर–९ का डा. थापा बाहेक सुलभ खरेल (बुटवल–१६), पार्थिवेन्द्र उपाध्याय (सिद्धार्थनगर–७), ज्ञानु पौड्याल (सिद्धार्थनगर–८), जीतबहादुर गुप्ता (सिद्धार्थनगर–१), कुसुम महर्जन (मध्यपुर ठिमी–६, भक्तपुर), रचना क्षेत्री (सिद्धार्थनगर–३), पुनमकुमारी अग्रवाल (सिद्धार्थनगर–८) र मधुप्रसाद अर्याल (बुटवल–१७) रहेका थिए । तीमध्ये आइतबार सम्पन्न प्राइमरी इलेक्सन बाट डा. थापा विजयी भएका हुन् ।

advertisement

को हुन् डा. लेखजंग थापा ?

डा. थापा वरिष्ठ न्युरोलोजिस्ट र सामाजिक अभियन्ता हुन् । सिद्धार्थनगर–९, अञ्चलपुरमा जन्मिएका उनले १६ वर्षभन्दा बढी समय नेपाली न्युरो–साइन्सको विकास र बिरामीको उपचारमा खर्चेका छन् ।

पोखराको मणिपाल कलेज अफ मेडिकल साइन्सेजबाट एमबीबीएस, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट इन्टरनल मेडिसिनमा एमडी तथा चितवनको कलेज अफ मेडिकल साइन्सेजबाट डीएम न्युरोलोजी अध्ययन गरेका उनले अमेरिकाको हार्वर्ड विश्वविद्यालयबाट ‘सेफ्टी क्वालिटी लिडरसिप एण्ड इन्फमेटिभ’ कार्यक्रम पनि पूरा गरेका छन् ।

अनुसन्धानमा सक्रिय डा. थापाका ८० भन्दा बढी वैज्ञानिक लेख राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलहरूमा प्रकाशित छन् । नेपाल स्ट्रोक एसोसिएसनका संस्थापक अध्यक्ष समेत रहेका उनले स्ट्रोकको उपचार, निदान र सचेतनामार्फत महत्वपूर्ण योगदान पुर्‍याएका छन् । उनको नेतृत्वमा तयार भएको राष्ट्रिय स्ट्रोक उपचार व्यवस्थापन प्रोटोकल स्वास्थ्य मन्त्रालयले समेत स्वीकृत गरेको छ ।

उनले ‘स्ट्रोक मास्टर क्लास’ नामक तालिममार्फत हजारौं चिकित्सक, नर्स र स्वास्थ्यकर्मीलाई स्ट्रोकको पहिचान, उपचार र सचेतनाबारे प्रशिक्षण दिँदै आएका छन् ।

डेढ दशकदेखि उनी प्रत्येक हप्ता दुई दिन आफ्नो जन्मभूमि भैरहवा पुगेर बिरामीलाई सेवा गर्दै आएका छन् । अब मुलुकलाई सुशासन, सामाजिक न्याय, विकास र समृद्धिको मार्गमा डोर्याउने उद्देश्यसहित उनी राजनीतिक यात्रामा होमिएका हुन् ।

प्रकाशित मिति: १५ भाद्र २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com