काठमाडौं । पार्टी गठन भएको १६ महिनामा माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले संसदीय चुनावको सामना गर्दैछ। मंसिर ४ गते हुने प्रतिनिधि सभा चुनावबाट राष्ट्रिय पार्टी बन्ने एकीकृत समाजवादीको लक्ष्य छ। यो लक्ष्य चुनौतीपूर्ण रहेको भन्दै एकीकृत समाजवादीका अध्यक्ष नेपालले समानुपातिकतर्फ मत बढाउने गरी केन्द्रित हुन कार्यकर्तालाई निर्देशन दिइरहेका छन्।

पार्टीको आन्तरिक भेला तथा प्रशिक्षणमा नेपालले भन्ने गरेका छन्, ‘गठबन्धन भनेर त्यसमा मात्रै निर्भर नहुनुस्। समानुपातिक तर्फको मत बढाउनु पर्ने चुनौती हामीलाई छ। जनतालाई कलम चिन्हमा मतदानको निम्ति आकर्षित गर्नुस्।’

राजनीतिक दलसम्बन्धी ऐनको दफा ५२ मा राष्ट्रिय दलको मान्यताबारे प्रावधान छ। त्यस प्रावधानअनुसार राष्ट्रिय पार्टी बन्न प्रत्यक्षतर्फ एक सिट जित्नुपर्छ भने समानुपातिकतर्फ सदर मतको कम्तीमा ३ प्रतिशत मत कटाउनु पर्छ।

एकीकृत समाजवादीलाई राष्ट्रिय दल बनाउने गरी पार्टी पंक्तिलाई परिचालन गर्ने काम भइरहेको सचिव रामकुमारी झाँक्री बताउँछिन्।

‘प्रतिनिधि सभाको निर्वाचनमार्फत् एकीकृत समाजवादीलाई राष्ट्रिय दल बनाउन हामीले संगठनलाई परिचालन गरिरहेका छौं।जनवर्गीय संगठनलाई क्रियाशील राखेका छौं। समानुपातिकतर्फ मत अधिकतम् संकलन गर्ने हिसाबले प्रशिक्षणका काम भइरहेका छन्,’ उनले भनिन्।

स्थानीय चुनावमा एकीकृत समाजवादीको कति छ लोकप्रिय मत?

गत वैशाख ३० गते भएको स्थानीय चुनावमा वडाध्यक्षका उम्मेदवारले पाएको मतलाई आधार मान्दा एकीकृत समाजवादीको लोकप्रिय मत ३.६६ प्रतिशत छ। वडाध्यक्षमा खसेको सदर मत १ करोड १५ लाख ४ हजार ३८ मतमध्ये एकीकृत समाजवादीका उम्मेदवारले ४ लाख २२ हजार ७ सय ३७ मत पाएका छन्। जुन राप्रपाको भन्दा धेरै हो।

एकीकृत समाजवादीले देशभरि २ हजार ४१ वडामा उम्मेदवारी दिएको थियो। तीमध्ये १ सय ९० वडामा उसका उम्मेदवारले अध्यक्ष जितेका छन्। एकीकृत समाजवादीले सबैभन्दा धेरै मत मधेस प्रदेशमा पाएको छ। मधेसमा ७ सय ९ वडाध्यक्षमा उम्मेदवारी दिँदा ८० वडाध्यक्ष समाजवादीबाट विजयी भएका छन्। मधेसमा समाजवादीका वडाध्यक्ष उम्मेदवारले १ लाख ५८ हजार १ सय १ मत ल्याएका छन्।

एकीकृत समाजवादीकी सचिव झाँक्री आफ्नो पार्टीको मात्रै मत तीन लाख रहेको दाबी गर्छिन्।

‘स्थानीय तहमा हामीले अरूबाट पनि मत पाएका छौं। हाम्रो मात्रै मत तीन लाख हो,’ उनले भनिन्।

भरतपुर महानगरपालिकामा एकीकृत समाजवादीले २९ मध्ये ६ वटामा उम्मेदवारी दिएको थियो। ती मध्ये चार वटामा तालमेल हुँदा तीन वटा जितेको थियो। अन्यमा समाजवादीले अरूलाई सहयोग गरेको थियो। पोखरा महानगरपालिकामा तीन वडा र हेटौंडा उपमहानगरपालिकामा एउटा वडामा उम्मेदवारी दिएर अन्य दललाई सहयोग गरेको थियो।

प्रकाशित मिति: २५ श्रावण २०७९, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com