काठमाडौं ।  राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि भौतिक विकाससहित साहित्य, कला, सङ्गीत, संस्कृति क्षेत्र अर्थात् प्राज्ञिक क्षेत्रको विकास पनि उत्तिकै अपरिहार्य रहेको बताएका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित राष्ट्रिय कविता महोत्सव, २०८२ का विजयी कविहरूलाई पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उहाँले नेपाल विभिन्न भाषा, जाति र अनेकौँ संस्कृतिहरूको साझा थलो भएको बताए ।

राष्ट्रपति पौडेलले भने–‘संसारको सर्वोच्च शिखर सगरमाथालगायतका उच्च हिमशृङ्खलाले सुशोभित, शान्तिका अग्रदूत गौतम बुद्धको जन्मभूमि अनि कहिल्यै पराधीन नभएको स्वाधीन र स्वतन्त्र देश नेपाललाई विश्वसामु चिनाउने काममा नेपाल प्रज्ञा प्रतिष्ठानको महत्त्वपूर्ण भूमिका रहन्छ ।’

advertisement

राष्ट्रपति पौडेलले नेपाली जनताको लामो त्याग र सङ्घर्षबाट प्राप्त उपलब्धिलाई प्राज्ञिक रूपमा स्थापित गर्ने दायित्व पनि नेपाल प्रज्ञा प्रतिष्ठान कै भएको बताउँदै प्रज्ञा प्रतिष्ठानले आफ्नो दायित्व कुशलतापूर्वक वहन गर्न सक्षम र सफल हुने विश्वास व्यक्त गरे ।

उनले साहित्यलाई भाषाको कलात्मक अभिव्यक्ति भन्दै वास्तवमा भाषा, साहित्य भनेको देशको ढुकढुकी, पहिचान र आत्मा हो भने । राष्ट्रपति पौडेलले भने –‘साहित्य र समाज एक अर्काका पूरक हुन् । यो ज्ञान, संस्कार, संस्कृति र जीवन हो । यसले दिने शिक्षा, सन्देश, चेतना, विचार र विवेचना अपरिमित छ । त्यसैले हरेक मानिसको जीवनमा भाषा, साहित्य, संस्कृति, दर्शन अत्यावश्यक छ ।’

राष्ट्रपति पौडेलले अनुमप भौगोलिक विविधतासहित विभिन्न जातजाति, भाषा, संस्कृति, परम्परा रहेको नेपाल जस्तो देशको शान र पहिचान भनेकै हाम्रा भाषा, साहित्य, संस्कृतिहरू भएको बताए । उनले भने – ‘यसको संरक्षण, संवर्धन र विकासमा जुट्नु हाम्रो साझा दायित्व हो । सरकारले पनि प्राज्ञिक कर्ममा क्रियाशील प्रतिभाको कदर र सम्मान गरी इतिहास निर्माणमासमेत योगदान दिने भाषा, साहित्य क्षेत्रको विकासलाई सधैँ प्राथमिकता दिनुपर्दछ ।’

राष्ट्रपति पौडेलले राष्ट्रिय कविता महोत्सव, २०८२ मा उत्कृष्ट दशभित्र पर्न सफल पुरस्कृत हुने सबै कविहरूलाई बधाई दिदैँ उनीहरूको सृजना यात्राको उत्तरोत्तर प्रगतिको कामना गरे । कार्यक्रममा राष्ट्रपतिले विभिन्न १० जना कविहरूलाइ सम्मानपत्र तथा पुरस्कार वितरण गरेका थिए ।

प्रकाशित मिति: १६ भाद्र २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com