काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यताको विषय विधान महाधिवेशनमा छलफल नहुने स्पष्ट पारेका छन्।
शुक्रबार गोदावरीमा सुरु भएको विधान महाधिवेशनको उद्घाटन सत्रमा अध्यक्ष ओलीले भने, ‘विद्या भण्डारीसँग सम्बन्धित विषयहरू विधान महाधिवेशनको एजेन्डासँग सम्बन्धित छैनन्। ती मुद्दाहरू पार्टीका अन्य कमिटीमा छलफल हुने विषय हुन्। सचिवालय, स्थायी कमिटी, पोलिटब्युरो वा केन्द्रीय कमिटीले आवश्यक छलफल अघि बढाउनेछ। विधान महाधिवेशन भने आफ्नै निर्धारित विषयमा केन्द्रित हुनेछ।’
प्रधानमन्त्रीसमेत रहेका ओलीले पार्टीका कतिपय संवेदनशील विषय अनावश्यक ढंगले फैलाइएको बताएका छन्। उनले जोड दिए, ‘राजनीति, सांगठनिक संरचना र विधानसँग सम्बन्धित प्रस्ताव पेश भएपछि समूहगत छलफल गरी त्यहाँ छलफलको विषय तय गर्न सकिन्छ, तर महाधिवेशनले आफैं त्यस विषयलाई छलफलको विषय बनाउने छैन।’
एमालेको बिहीबार बसेको सचिवालय बैठकले पनि भण्डारीको सदस्यताको विषय महाधिवेशनमा नल्याउने निर्णय गरेको थियो। उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए, ‘केन्द्रीय कमिटीमा छलफल भइसकेको विषयलाई महाधिवेशनमा फेरि उठाइरहन आवश्यक छैन। सदस्यता विवादमा पक्ष–विपक्षी बन्ने अवस्था पनि छैन।’
ज्ञवालीका अनुसार, महाधिवेशनमा केवल सम्बन्धित एजेन्डा भित्रका विषयहरूमात्र छलफल हुनेछन् र सचिवालय वा केन्द्रीय कमिटीका अन्य निर्णयहरू तिनै कमिटीमा पछि अघि बढाइनेछ। यसै कारण, पूर्वराष्ट्रपति भण्डारीको पार्टी सदस्यताको विषय अहिले थप बहसको विषय होइन।
प्रकाशित मिति: २० भाद्र २०८२, शुक्रबार













प्रतिक्रिया