काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बुद्धिजीवीहरूले सरकारले गरेका सकारात्मक कामलाई नजरअन्दाज गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।
ललितपुरको गोदावरीमा जारी विधान महाधिवेशनको तेस्रो दिन आइतबार प्रतिनिधिहरूलाई सम्बोधन गर्दै उनले यस्तो गुनासो गरेका हुन्।
ओलीले विशेषगरी लिपुलेक र लिम्पियाधुरा नेपालकै भूभाग हो भन्ने सन्देश आफूले अन्तर्राष्ट्रिय स्तरमा उठाउँदा समेत बुद्धिजीवी वर्गले त्यसलाई महत्व नदिएको आरोप लगाए।
सम्बोधनको क्रममा उनले एउटा कथा सुनाउँदै भने— ‘पुतलीले रस खाएर निदाउँछ र सपनामा आफू डाक्टर, पाइलट, इन्जिनियर बन्छु भन्छ। मन्त्री बन्छु भनेर पनि सपना देख्छ। तर जब उठ्छ, फेरि पुतलीकै रूपमा हुन्छ।’ यो कथामार्फत उनले यथार्थ बुझ्न नसक्ने मानसिकताको व्यङ्ग्य गरेका थिए।
प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार, सामाजिक सञ्जाल बन्दबारे पनि उनले धारणा राख्दै कतिपय बुद्धिजीवीहरूले वाक् स्वतन्त्रता कुण्ठित भएको भन्दै गलत धारणा फैलाएकोमा आश्चर्य व्यक्त गरे।
उनले भने, ‘देशको स्वाधीनता र राष्ट्रियताका लागि सरकारले सामाजिक सञ्जाललाई कानुनी दायरामा ल्याउन एक वर्षअघि नै आग्रह गरेको हो। तर दर्ता हुन नआएपछि सञ्चालनमा रोक लगाइएको हो। यो वाक् स्वतन्त्रता कुण्ठित गर्ने होइन। तर केहीले यसको सही अर्थ बुझ्न सकेका छैनन्।’
प्रकाशित मिति: २२ भाद्र २०८२, आइतबार













प्रतिक्रिया