काठमाडौं । नेकपा (एमाले)ले आसन्न प्रतिनिधि सभा निर्वाचनमा सकारात्मक संकेत दिएको छ।
सोमबार पार्टी मुख्यालय च्यासलको अवलोकन गर्दै महासचिव शंकर पोखरेलले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई तोकिएको मितिमा चुनाव सम्पन्न गराउन आग्रह गरे।
उनले भने, ‘यो सरकार अन्तरिम भएकाले यसको मूल कर्तव्य भनेको शान्ति–सुरक्षाको वातावरण तयार गरेर तोकिएकै मितिमा निर्वाचन गराउनु हो। सबै लोकतान्त्रिक शक्तिहरूले सडकमा होइन, जनतामाझ गएर अभिमत लिनुपर्छ।’
पोखरेलले सधैंभरि सडकलाई मात्र जनमत अभिव्यक्त गर्ने माध्यम बनाउन नहुने स्पष्ट पारे। ‘संविधानले परिवर्तनलाई संस्थागत गरिसकेको छ। समाधानलाई निरन्तर सडकमै खोजिरह्यो भने देशमा स्थायित्व र विकास सम्भव हुँदैन,’ उनले टिप्पणी गरे।
उनले भदौ २४ गतेको प्रदर्शन उग्र बन्दै एमालेको पार्टी कार्यालयसहित नेता–कार्यकर्ताको सम्पत्तिमा ठूलो क्षति पुगेको स्मरण गर्दै त्यसलाई विध्वंशकारी गतिविधि भने।
संविधान दिवसबारे जानकारी दिँदै महासचिव पोखरेलले भने, ‘यस वर्ष हामी हाम्रो क्षतिग्रस्त संरचनाको खरानीमै उभिएर संविधान निर्माणको परिकल्पना साकार गर्ने प्रतिबद्धता प्रकट गर्नेछौं। ७७ जिल्लाका कार्यकर्तालाई निर्देशन दिइसकेका छौं। काठमाडौं उपत्यकामा पार्टी कार्यालयमै मुख्य कार्यक्रम हुनेछ।’
अन्तरिम सरकारले आगामी फागुन २१ गते निर्वाचन गर्ने घोषणा गरिसकेको छ।
प्रकाशित मिति: ३० भाद्र २०८२, सोमबार













प्रतिक्रिया