काठमाडौं । बिपी राजमार्ग आजदेखि २४ घण्टा सञ्चालनमा आउने भएको छ। मनसुनको कारण राति सवारीसाधन चलाउन रोक लगाइएको उक्त राजमार्गलाई जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा सोमबार बसेको सुरक्षा समितिको बैठकले पूर्ण रूपमा खुला गर्ने निर्णय गरेको हो। दसैँ–तिहारलगायत चाडपर्व नजिकिँदै गरेको र मनसुन सकिन लागेको अवस्थामा यात्रुहरुको सहजताका लागि राजमार्ग खुला गर्ने निर्णय गरिएको समितिले जनाएको छ।

गत असार ७ गतेदेखि बाढी–पहिरोको उच्च जोखिमका कारण राति १२ घण्टासम्म यातायात रोक लगाइएको थियो। त्यसपछि पटक–पटक समयावधि बढाउँदै भदौ मसान्तसम्म रातिको आवतजावतमा रोक कायम गरिएको थियो। पछिल्लो पटक भदौ १६ गतेदेखि थप १५ दिनको लागि सवारी सञ्चालनमा प्रतिबन्ध लगाइएको थियो।

advertisement

सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठका अनुसार मनसुन सकिएको र जोखिम न्यून हुँदै गएको कारण असोज १ गतेदेखि राजमार्ग पूर्ण रूपमा खुला गर्ने निर्णय भएको हो। उनका अनुसार विशेष गरी काभ्रेपलाञ्चोकको काभ्रेभञ्ज्याङदेखि सिन्धुलीको खुर्कोट खण्डसम्मका विभिन्न स्थानमा पहिरोको जोखिम रहेकाले यसअघि यातायात सञ्चालनमा रोक लगाइएको थियो।

यसअघि काभ्रेपलाञ्चोक, सिन्धुली र रामेछाप जिल्लाका सुरक्षा निकायको अन्तरजिल्ला समन्वय समितिले असार ७ गतेदेखि साँझ ६ः३० बजेदेखि बिहान ५ः०० बजेसम्म तथा साउन महिनाभर साँझ ५ बजेपछि बिहान ५ बजेसम्म आवतजावत बन्द गर्ने निर्णय गरेको थियो।

गत वर्ष असोजको बाढीपहिरोले राजमार्गको चौकीडाँडादेखि वर्षेखोलासम्म करिब आठ किलोमिटर सडक बगाएपछि अस्थायी रूपमा मात्र यातायात सञ्चालन गरिएको थियो। सो बाढीपहिरोले कुल १६० किलोमिटरमध्ये सिन्धुलीको खुर्कोट–नेपालथोक ३४ किलोमिटर र नेपालथोक–धुलिखेल ५० किलोमिटर खण्डमा व्यापक क्षति पुर्‍याएको थियो।

हाल कार्यालयले क्षतिग्रस्त खण्डहरूलाई चार भागमा विभाजन गरी ठेक्कापट्टाको प्रक्रिया अघि बढाइरहेको छ। पूर्वी नेपाललाई छोटो दूरीमार्फत काठमाडौंसँग जोड्ने यो राजमार्गबाट दैनिक हजारौँ सवारीसाधन सञ्चालन हुने गर्छ।

प्रकाशित मिति: १ आश्विन २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com