काठमाडौं । जनमत पार्टीका शीर्ष नेताहरूले अध्यक्ष डा. चन्द्रकान्त (सि.के.) राउतको राजीनामा माग गरेका छन्। वरिष्ठ उपाध्यक्ष अब्दुल खानसहित ६ नेताले पार्टीको राजनीतिक विश्वसनीयता र जनआस्था पुनःस्थापना गर्न नेतृत्व परिवर्तन आवश्यक भएको भन्दै राउतलाई राजीनामा दिन आग्रह गरेका हुन्।
राजीनामा माग्ने नेतामध्ये प्रवक्ता शरदसिंह यादव, संयोजक संजयकुमार यादव, सिके सिंह, राजाराम चौधरी र बिक्रबहादुर बम पनि रहेका छन्। उनीहरूले संगठन विभाग प्रमुख डा. जयकान्त राउतको समेत राजीनामा माग गरेका छन्।
नेताहरूले हस्ताक्षर गरेर जारी गरेको पत्रमा भनिएको छ, पार्टीको समयानुकूल हित, राजनीतिक विश्वसनीयता र जनआस्था पुनःस्थापनाका लागि नेतृत्व परिवर्तन अपरिहार्य भएको निष्कर्षमा पुगेका छौं। त्यसैले अध्यक्ष डा. सि.के. राउतज्यू र संगठन विभाग प्रमुख डा. जयकान्त राउतज्यूले २४ घण्टाभित्र पदबाट स्वेच्छिक राजीनामा दिनुहुन हार्दिक अनुरोध गर्दछौं।
उनीहरूले दुई नेताले मार्ग प्रशस्त गरे पार्टीलाई थप सशक्त, लोकतान्त्रिक, जवाफदेही र जनउत्तरदायी संस्थामा रूपान्तरण गर्न सकिने विश्वास पनि व्यक्त गरेका छन्।
प्रकाशित मिति: १ आश्विन २०८२, बुधबार













प्रतिक्रिया