काठमाडौं । नेपाली कांग्रेसका संस्थापक नेता तथा प्रजातान्त्रिक आन्दोलनका अग्रणी व्यक्तित्व गणेशमान सिंहको २८औँ स्मृति दिवस आज विभिन्न कार्यक्रमका साथ मनाइँदैछ। यस अवसरमा भोभाभगवतीस्थित उनको शालिकमा माल्यार्पण गरिने कार्यक्रम तय गरिएको छ।

नेपालमा प्रजातन्त्र स्थापनादेखि पुनःस्थापनासम्मको यात्रामा निर्णायक भूमिका निर्वाह गरेका सिंह सम्झना र सम्मानका पात्र रहँदै आएका छन्। राजासँग सम्झौता नगरी जनताको अधिकारका पक्षमा अडान लिने साहसी नेताका रूपमा उनलाई चिनिन्छ।

advertisement

सिंह १९९७ सालदेखि नै राणा शासन अन्त्यका लागि प्रजा परिषद्को सदस्य भएर सक्रिय भएका थिए। ०४६ सालको ऐतिहासिक जनआन्दोलनपछि प्रधानमन्त्री बन्ने प्रस्ताव आए पनि उनले त्यसलाई अस्वीकार गर्दै सत्ताभन्दा आन्दोलनप्रतिको निष्ठा प्रमाणित गरेका थिए।

नेता सिंहको जन्म १९७२ साल कात्तिक २४ गते काठमाडौंको क्षेत्रपाटी, चाक्सीबारीमा भएको हो। काठमाडौंको प्रतिष्ठित खानदानी परिवारमा जन्मिएका उनले सानै उमेरदेखि राजनीतिक गतिविधिमा संलग्न हुँदै राणा शासनविरुद्ध लडाइँ अगाडि बढाएका थिए। २०५४ साल असोज २ गते उनको निधन भएको थियो।

हालैको जेनजी युवा आन्दोलनका क्रममा चाक्सीबारीस्थित गणेशमान सिंहको निवासमा भदौ २४ गते आगजनी भएको थियो। सो घटनापछि उनका छोरा कांग्रेस नेता प्रकाशमान सिंहसहित परिवारका सदस्यलाई नेपाली सेनाले उद्धार गरी सुरक्षित स्थानमा लगेको थियो।

प्रकाशित मिति: २ आश्विन २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com