काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जेन-जी आन्दोलनको नाममा राजनीतिक दलहरूले ल्याएका परिवर्तन र उपलब्धिलाई कमजोर पार्ने प्रयास भइरहेको आरोप लगाएका छन्।
गणेशमान सिंहको २८औँ स्मृति दिवसको अवसरमा बिहीबार आयोजित कार्यक्रममा बोल्दै उनले प्राप्त अधिकारलाई सुरक्षित राख्दै संस्थागत गर्ने जिम्मेवारी राजनीतिक दलहरूको भएको स्पष्ट पारे। ‘अहिले भएको जेन–जेडको प्रदर्शनमा विराटनगरस्थित कोइराला निवास, काठमाडौंको चाक्सीबारी, कृष्णप्रसाद भट्टराईको आश्रममा आगजनी भएको छ। यसले आन्दोलनको आडमा दल र दलले गरेको योगदानलाई मेटाउन खोजिएको संकेत दिन्छ,’ उनले भने।
सिंहले लोकतन्त्रमा जनताले असन्तुष्टि जनाएका पक्षलाई सुधार गर्दै अघि बढ्नुपर्नेमा जोड दिँदै वर्तमान परिस्थितिबाट मुलुकलाई माथि उठाउन अब कांग्रेस नेतृत्वदायी भूमिकामा जाने दाबी गरे। उनले आन्दोलनले जनतालाई केन्द्रबिन्दुमा राखेर अघि बढ्नुपर्ने सन्देश दिएको पनि उल्लेख गरे।
उनले आगजनी र तोडफोडमा संलग्न व्यक्तिमाथि निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गर्दै, ‘विधिको शासनका लागि हामी लड्दै आएका हौं। त्यसैले तोडफोड र आगजनी गर्नेहरू प्रमाणसहित कारबाहीको दायरामा आउनुपर्छ,’ भने।
गणेशमान सिंहको घरलाई ‘राजनीतिक मन्दिर’का रूपमा लिइँदै आएको भए पनि हाल आगजनीबाट क्षति पुर्याइएकोमा उनले चिन्ता व्यक्त गरे। साथै, २०४६ सालको परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेको चाक्सीबारी जलाइएको र पुराना इमानदार नेताहरू बसेका घरहरू नष्ट गरिनु आपराधिक मनसायको परिणाम भएको आरोप लगाए।
सिंहले आन्दोलनमा ज्यान गुमाउनेलाई श्रद्धाञ्जली अर्पण गर्दै पीडित परिवारप्रति समवेदना प्रकट गरे। उनले समयको मागअनुसार दललाई अझ संस्थागत गर्दै अघि बढ्नु जरुरी रहेको बताउँदै “शून्य अवस्थामा कसैले पनि केही गर्न सक्दैन” भन्ने टिप्पणी गरे।
प्रकाशित मिति: २ आश्विन २०८२, बिहिबार













प्रतिक्रिया