काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले शुक्रबार प्रहरी प्रधान कार्यालयमा पुगेर जेन–जेड आन्दोलनका क्रममा भएका क्षतिको विवरण लिएका छन्।
उक्त अवसरमा उनले नेपाल प्रहरीलाई उच्च मनोबलका साथ राष्ट्र र जनताको हितमा समर्पित भएर काम गर्न निर्देशन दिए। ‘आन्दोलनका क्रममा क्षतिग्रस्त प्रहरी इकाईको पुनःस्थापना र प्रहरी कर्मचारीको मनोबल उच्च राख्न समुदायले देखाएको सहयोग महत्त्वपूर्ण छ। तपाईंहरू जनताको हितमा निष्ठापूर्वक खटिनुहोस्, ‘ मन्त्री अर्यालले भने।
उनले नेपाल प्रहरीको कार्यक्षेत्रभित्र देखिएका कमजोरी सुधार्दै कानुनअनुसार जिम्मेवारी निर्वाह गर्नुपर्नेमा जोड दिए। “कर्तव्यनिष्ठ र संयमित भएर काम गर्ने विश्वास सरकारले लिएको छ। यो सरकार उच्च मनोबलयुक्त प्रहरी संगठनको पक्षमा छ,” उनले उल्लेख गरे।
यसअघि गृहमन्त्री अर्यालले काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी, प्रहरी वृत्त दरबारमार्ग र प्रहरी वृत्त महाराजगञ्जलगायतका क्षतिग्रस्त प्रहरी इकाईको स्थलगत निरीक्षण गरेका थिए।
प्रहरी प्रधान कार्यालयमा भएको कार्यक्रममा सातै प्रदेशका प्रहरी प्रमुख, जिल्ला प्रहरी कार्यालयका प्रमुख र इलाका प्रहरी कार्यालयका प्रमुखहरू भर्चुअल माध्यममार्फत सहभागी भएका थिए।
प्रकाशित मिति: २ आश्विन २०८२, बिहिबार













प्रतिक्रिया