काठमाडौं । नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले संविधान दिवसका अवसरमा पार्टीभित्र मात्र नभई सबै राजनीतिक दलहरूले आफ्ना कमीकमजोरीहरूको समीक्षा गर्नुपर्ने आवश्यकता औँल्याएकी छन्।
शुक्रबार एमाले केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा शाक्यले हालैको जेन–जी आन्दोलनमा स्वार्थी तत्त्वहरूको घुसपैठका कारण युवाले ज्यान गुमाउनुपरेको उल्लेख गर्दै, त्यस घटनालाई शोकमा मात्र सीमित नगरी शक्तिमा बदल्नुपर्ने बताइन्।
‘हाम्रो हातमा लक्ष्य बोकेको संविधान छ। निराश हुनु पर्दैन। यो संविधानमार्फत नयाँ नेपाल निर्माण गर्न सकिन्छ,’ उनले भनिन्। प्रतिनिधि सभाको विघटनलाई अत्तालिएको कदमका रूपमा व्याख्या गर्दै उनले संविधानलाई अपरिवर्तनिय नभई सुधारसहित प्रयोग गर्न सकिने दस्तावेजका रूपमा लिनुपर्ने धारणा राखिन्।
देश अहिले ‘रोइरहेको’ टिप्पणी गर्दै शाक्यले गणतन्त्रलाई कमजोर बनाउन अझै प्रयास भइरहेकाले सचेत रहनुपर्नेमा जोड दिइन्। “इतिहासलाई गर्व गर्न सक्ने ढंगले लेख्नुपर्छ। संयमित भएर अघि बढ्नु अहिलेको आवश्यकता हो,” उनले भनिन्।
उनले एमालेभित्र पनि गम्भीर आत्मसमीक्षा जरुरी रहेको प्रस्ट पार्दै नेतृत्व तहले नै कमजोरी सच्चाएर लोकतान्त्रिक र समावेशी अभ्यासलाई अघि बढाउनुपर्नेमा जोड दिइन्।
‘समीक्षा गर्न डराउन हुँदैन। हामी चुनौतीपूर्ण आन्दोलन पार गर्दै यहाँसम्म आइपुगेका हौँ। अब पार्टीलाई लोकतान्त्रिक शैलीमा अघि बढाएर समावेशी नेपाल बनाउनुपर्छ। बरु नयाँ अभियानका साथ अघि बढौँ,’ शाक्यको भनाइ थियो।
प्रकाशित मिति: ३ आश्विन २०८२, शुक्रबार













प्रतिक्रिया