काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वर्तमान अन्तरिम सरकार गठन गर्ने क्रममा संविधान ‘लिक बाहिर’ गएको ठहर गरेको छ। संविधान दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै रास्वपाले बाध्यात्मक परिस्थितिमा अक्षरभन्दा भावना प्राथमिकतामा राख्दा यस्तो स्थिति आएको बताए पनि आगामी निर्वाचनमार्फत संविधान पुनः सही मार्गमा फर्किने अपेक्षा व्यक्त गरेको छ।
कार्यवाहक सभापति डीपी अर्यालले विज्ञप्ति जारी गर्दै भने, ‘ निर्वाचनलाई सफल बनाउने राष्ट्रिय जिम्मेवारीमा सबै सरोकारवालालाई सामूहिक र सार्थक खबरदारीसहित पहलकदमी गर्न आह्वान गर्दछौं।’
उनका अनुसार रास्वपा संविधानमा निहित लोकतान्त्रिक मूल्य, सामाजिक न्याय र समानताको सिद्धान्तलाई व्यवहारमा उतार्न प्रतिबद्ध छ। संविधान परिमार्जन नगरी आमूल सुधार सम्भव नभएको रास्वपाको अडान पुनः दोहोर्याउँदै विज्ञप्तिमा भनिएको छ, ‘संवैधानिक सुधारको मुद्दा निरन्तर उठाउँदै आएको स्मरण गराउँछौं। पछिल्लो जेन-जी आन्दोलन र त्यस क्रममा व्यक्त भएका आवाजहरूले पनि हाम्रो अडानलाई पुष्टि गरेका छन्।’
रास्वपाले संविधान दिवसलाई अवसरका रूपमा उपयोग गर्दै राजनीतिक स्थायित्व, सुशासन र सुधारका एजेन्डामा व्यापक एकता कायम गर्नुपर्ने आवश्यकता औंल्याएको छ ।
प्रकाशित मिति: ३ आश्विन २०८२, शुक्रबार













प्रतिक्रिया