काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित महामन्त्री मुकुल ढकालले विद्यमान निर्वाचन प्रणालीलाई तीव्र आलोचना गर्दै यसले सच्चा जनप्रतिनिधि होइन, ‘भेँडा प्रतिनिधि’ मात्रै उत्पादन गरिरहेको आरोप लगाएका छन्।
सामाजिक सञ्जाल एक्स मार्फत धारणा सार्वजनिक गर्दै उनले लोकतन्त्रको आधारभूत सिद्धान्त ‘जनताको, जनताद्वारा, जनताका लागि शासन’ भए पनि अहिलेको प्रणालीले ‘भेँडाले, भेँडाद्वारा, भेँडाका लागि’ भन्ने विकृत रूपलाई संस्थागत गरेको बताए।
ढकालका अनुसार आगामी निर्वाचनबाट पनि वास्तविक नेतृत्व जन्मिने सम्भावना न्यून छ, किनकि प्रणाली नै दोषपूर्ण छ। उनले भने– ‘भेँडाको नेता सधैं भेँडा हुन्छ, मान्छे हुन सक्दैन। अहिलेको प्रणालीले जनताको होइन, भेँडाको चुनाव गराइरहेको छ।’
उनले चेतावनी दिँदै भने, जनताले चलाएको मुलुकमा विकास, शान्ति, सुशासन, न्याय र स्वतन्त्रता कायम हुन्छ, तर भेँडाले चलाएको मुलुकमा विनाश, अशान्ति, कुशासन, भ्रष्टाचार र अपराध मात्र फैलिन्छ।
त्यसैले ढकालले ‘भेँडातन्त्र’ अन्त्य गर्दै जनताको वास्तविक शासन स्थापना गर्न निर्वाचन प्रणालीमा तत्काल आमूल परिवर्तन अपरिहार्य भएको औंल्याए। ‘साँचो जनप्रतिनिधि छान्न निर्वाचन प्रणाली बदल्नै पर्छ। भेँडाको शासन अन्त्य गरेर जनताको शासन स्थापना गर्नुपर्छ,’ उनले लेखे।
प्रकाशित मिति: ४ आश्विन २०८२, शनिबार













प्रतिक्रिया