काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अवरुद्ध सडकहरू विशेष परिस्थितिबाहेक ४–६ घण्टाभित्र सञ्चालनमा ल्याउने लक्ष्यका साथ काम अघि बढाएको जनाएको छ।
शनिबार मन्त्री कुलमान घिसिङको अध्यक्षतामा भएको बैठकमा मन्त्रालयका सचिव केशवकुमार शर्माले हाल मौसमका कारण सडक अवरुद्ध भएको र सडक विभागको टोली सक्रिय रहेको जानकारी दिए। उनले विशेष गरी पृथ्वी राजमार्ग र मुग्लिङ खण्डको तुइन खोलामा रातिदेखि रोकिएको सडक सफाइ सुरु भएपछि ४ घण्टाभित्र बाटो खुल्ने दाबी गरे।
सचिव शर्माले भने, ‘हामीले काम सुरु गर्नासाथ हाम्रो टोली घटनास्थलमा पुगेको छ। आवश्यक मेसिन आधा घण्टादेखि एक घण्टाभित्र उपलब्ध हुनेछ। सामान्य अवस्थामा ४–६ घण्टाभित्र सडक सञ्चालनमा आउनेछ। केवल पहिरो सक्रिय भएमा मात्र ढिलाइ हुनेछ।’
बैठकमा मन्त्री घिसिङले चाडपर्वका दिनहरूमा यातायात सहज बनाउन फास्ट ट्रयाकमा काम गर्ने योजना बनाइएको र आवश्यक निर्णय आन्तरिक छलफलपछि गरिने बताए।
यसैबीच, यातायात व्यवसायीहरूले राति चल्ने बसलाई दिउँसो सञ्चालन गर्न सुझाव दिएका छन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँर र वरिष्ठ उपाध्यक्ष सरोज सिटौला अनुसार, पहिरो र बाढीका कारण हालको अवस्था जोखिमपूर्ण भएकाले बस सञ्चालन समय समायोजन उपयुक्त हुने बताए।
बैठकमा सडक विभाग, गृह मन्त्रालय, यातायात व्यवसायी महासङ्घलगायत सरोकारवाला निकायका प्रतिनिधिहरू उपस्थित थिए।
प्रकाशित मिति: ४ आश्विन २०८२, शनिबार













प्रतिक्रिया