काठमाडौं । चाडपर्व नजिकिँदै गर्दा सडक यात्रा गर्दा लुटपाटको जोखिम बढ्ने भन्दै यातायात व्यवसायीहरूले सुरक्षामा कडाइ गर्न सरकारसँग माग गरेका छन्।
शनिबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङको अध्यक्षतामा भएको संयुक्त छलफलमा व्यवसायीहरूले प्रमुख राजमार्गमा सुरक्षा सुदृढ बनाउन जोड दिएका थिए। नेपाल यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाका अनुसार हालै जेलबाट कैदी फरार भएका र हातहतियार चोरी भएका कारण सडकमा लुटपाट हुन सक्ने जोखिम छ। यसकारण, राजमार्गमा सवारीसाधनको सुरक्षाका लागि स्थानीय तह, प्रशासन र प्रहरीलाई सक्रिय बनाउन आग्रह गरिएको छ।
छलफलमा मन्त्रालयका प्रतिनिधि, सडक विभाग, यातायात व्यवस्था विभाग, नेपाल प्रहरी र यातायात व्यवसायी महासंघका पदाधिकारी सहभागी थिए। सडक विभागका महानिर्देशक विजय जैसीले अहिले अवरुद्ध रहेका अरनिको राजमार्ग, स्याफ्रुवेँसी–रसुवागढी सडक, मुग्लिन–नारायणगढ र दाउन्ने खण्ड तत्काल सञ्चालनमा ल्याउने उपायबारे छलफल भएको बताए।
यस्तै, व्यवसायीहरूले दाउन्ने र मुग्लिन–नारायणगढ सडक खण्डका कारण यातायात तालिका अस्तव्यस्त भएको भन्दै तत्काल समाधानको माग गरेका छन्। दशैँलाई लक्षित गर्दै नागढुङ्गा सुरुङमार्ग पनि खुला गर्न सुझाव दिइएको छ।
त्यसैगरी, व्यवसायीहरूले घटस्थापनादेखि अत्यावश्यक बाहेक १२ चक्के मालवाहक सवारी रोक्नुपर्ने र मौसम विज्ञान विभागले समयमै सचेतनासम्बन्धी सूचना दिनुपर्ने माग पनि राखेका छन्। सडक यात्रा सहज र सुरक्षित बनाउन सरोकारवालाबीच ‘वाट्स्एप ग्रुप’ समेत गठन गरिएको छ।
प्रकाशित मिति: ४ आश्विन २०८२, शनिबार













प्रतिक्रिया