काठमाडौं । हामी नेपाल का संस्थापक सुदन गुरुङले आफू राष्ट्रपति भवन शीतलनिवासमा भोज वा ‘सेलिब्रेशन’का लागि नभई संविधानको रक्षा गर्ने उद्देश्यले गएको स्पष्ट पारेका छन्।
शनिबार सार्वजनिक भिडियो सन्देशमार्फत गुरुङले देश गम्भीर संकटमा परेको समयमा राजनीतिक दललाई उनीहरूको गल्ती सम्झाउन र संविधान बचाउन आफू शीतलनिवास पुगेको बताएका हुन्।
‘म त्यहाँ कुनै भोज खान वा रमाउन गएको होइन,’ उनले भने, ‘नेताहरू सबै त्यहाँ उपस्थित हुने भएपछि उनीहरू शिर ठाडो पारेर नहिँडून् भन्ने सोचले मात्रै गएको हुँ।’
गुरुङले आफू कुनै नेतासँग एउटै कुर्सीमा नबसेको र त्यहाँ चिया–पानीसम्म नखाएको दाबी गरे। ‘मेरो भाइबहिनीको रगतले बनेको सरकारसँग खानपान लिने मेरो मन थिएन। म अशुद्ध हुन्छु भन्ने सोचले मैले पानी समेत खाइनँ,’ उनले भने।
उनका अनुसार, जेन जी आन्दोलनपश्चात संविधान खारेज हुने अवस्था आएको र त्यसो भएको खण्डमा राष्ट्रपति पद रिक्त भई देश अभिभावकविहीन बन्ने खतरा थियो। ‘मलाई १५ मिनेटको समय दिइएको थियो— देशको भविष्यबारे निर्णय गर्न। संविधान खारेज भएको भए राष्ट्रपति समेत जानुहुन्थ्यो, बाह्य हस्तक्षेपको सम्भावना थियो। के हामीलाई त्यस्तो अवस्था चाहिएको हो?’ गुरुङको प्रश्न थियो।
गुरुङले संविधानले नै सबैलाई सुरक्षा दिएको भन्दै त्यसलाई जोगाउनु अहिलेको मुख्य दायित्व भएको उल्लेख गरे। उनले कांग्रेस नेता गगन थापासँग भेट गरी ‘संविधानले तपाईंहरूलाई जोगाएको हो, अब यसरी चल्दैन’ भन्ने सन्देश दिएको बताए।
राजनीतिक दलले फैलाउने अफवाह र प्रोपोगान्डाबाट सचेत रहन उनले नागरिकलाई आग्रह गरे। ‘हामी नेपाल’ को आधिकारिक सूचनामा मात्र विश्वास गर्न र विभाजनबाट टाढा रहन उनले अपील गरे।
‘देशका लागि लड्ने प्रत्येक व्यक्ति नै जेन जी र सच्चा नेपाली हो,’ गुरुङले भने, ‘अब सबै पुस्ताका नेपालीहरू एकजुट हुने बेला आएको छ। मेरो बोली वा व्यवहारमा कमजोरी भए सुधार्न तयार छु, तर देश बनाउन सबै मिलेर अघि बढ्नैपर्छ।’
प्रकाशित मिति: ४ आश्विन २०८२, शनिबार













प्रतिक्रिया