काठमाडौं । ‘हामी नेपाल’ का संस्थापक सुदन गुरुङले नेपाली कांग्रेसका महामन्त्री गगन थापासँग भेट गरेर पुराना राजनीतिक नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका छन्।
संविधान दिवसको अवसरमा शुक्रबार शीतलनिवासमा आयोजित कार्यक्रममा थापासँग भएको छोटो भेटबारे शनिबार भिडियो सन्देशमार्फत जानकारी दिंदै गुरुङले आफूले थापालाई स्पष्ट सन्देश दिएको बताए।
‘मैले गगन दाइलाई भनेँ– यस्तो तालले भएन दाइ, तपाईंहरूले अब नयाँ बाटो देखाउनुपर्छ, पुराना नेताहरूले यसरी देश हाँक्ने शैली बदल्नुपर्छ,’ गुरुङले भने।
उनका अनुसार, संविधानले नै अहिलेसम्म राजनीतिक दल र नेताहरूलाई जोगाइराखेको तथ्य नबिर्सन आग्रह गरिएको थियो। ‘संविधान खारेज भएको भए राष्ट्रपति पदसमेत रिक्त हुन्थ्यो, देश अभिभावकविहीन बन्थ्यो,’ उनले स्मरण गराए।
गुरुङले आफू कुनै राजनीतिक लाभ वा पदका लागि नभई, नेताहरूलाई जिम्मेवारीबोध गराउन शीतलनिवास गएको प्रष्ट पारे। ‘म सेलिब्रेट गर्न गएको होइन, नेताहरू शिर उचालेर नहिँडुन् भनेर गएको हुँ,’ उनले भने।
उनले त्यहाँ कुनै नेतासँग एउटै कुर्सीमा नबस्नुका साथै दिइएको चिया–पानीसमेत अस्वीकार गरेको बताए। ‘मेरो भाइबहिनीको रगतले बनेको सरकारमा उनीहरूको केही खानु उचित लागेन,’ उनले जोड दिए।
जेनजी आन्दोलनपछि उत्पन्न संकटका घडीमा संविधान जोगाउन आफूले निर्णायक भूमिका खेलेको दाबी गर्दै गुरुङले भने, ‘मलाई १५ मिनेटको समय दिइएको थियो। यदि संविधान खारेज भएको भए राष्ट्रपति पनि जानुहुन्थ्यो, बाह्य हस्तक्षेपको खतरा बढ्थ्यो। के हामी त्यस्तो देश चाहन्छौं?’
गुरुङले संविधानले नै सबैलाई सुरक्षा दिएको भन्दै त्यसलाई जोगाउनुको विकल्प नभएको दोहोर्याए।
प्रकाशित मिति: ४ आश्विन २०८२, शनिबार













प्रतिक्रिया