काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले पार्टी सभापतिमाथि भएको सांघातिक हमलापछि पनि पार्टीभित्रैका शीर्ष नेताहरू जिम्मेवार ढंगले नबोलेको भन्दै आक्रोश व्यक्त गरेका छन्।
भदौ २४ गते प्रदर्शनकारीहरूले आफ्नै घरमा आगजनी गरेको घटनापछि आइतबार पत्रकार सम्मेलन गर्दै महतले पार्टी महामन्त्री गगन थापा र नेता विश्वप्रकाश शर्मालाई लक्षित गर्दै, ‘नेतृत्वमाथि गम्भीर आक्रमण भइरहेका बेला संवेदनशील नदेखिनु दुर्भाग्यपूर्ण हो,’ भने।
उनका अनुसार सभापति उपचाररत रहेको संवेदनशील समयमा आन्तरिक बहस चर्काउनु घाउमा नुन छर्ने प्रवृत्ति हो। ‘चार दिनअघि नेतृत्व ठीक थियो, आज परिस्थिति बदलिँदा त्यही नेतृत्व अस्वीकार्य भन्ने रवैया किन?’ भन्दै उनले असन्तुष्टि जनाए।
महतले सभापति शेरबहादुर देउवामाथि भएको आक्रमणको उपचार पूरा नभएसम्म पार्टी नेतृत्वबारे छलफललाई रोक्नु उपयुक्त हुने स्पष्ट पारे। ‘छलफल गर्न केन्द्रीय समिति र पार्टी संरचना छन्। उचित समयमा मूल्यांकन गरौं, सुधार पनि गरौं। तर उपचार भइरहेका बेलामै नेतृत्व परिवर्तनको हतार किन?’ उनले प्रश्न गरे।
उनले कार्यसम्पादन समितिबाट आधिकारिक निर्णय नभएसम्म छुट्टै बहस ल्याउने चलनले पार्टी मात्र नभई देशलाई समेत अस्थिर बनाउने चेतावनी दिए। ‘लोकतन्त्रविरोधी शक्तिहरूलाई यसले लाभ पुग्छ। यस्तो संवेदनशील समयमा अतिशयोक्तिपूर्ण प्रसंसा वा गाली गर्नु दुवै उपयुक्त हुँदैन। संयमित भइ सामूहिक निष्कर्षमा पुग्न जरुरी छ,’ महतको भनाइ थियो।
भदौ २३ गतेको जेनजी युवाहरूको प्रदर्शन र त्यसपछिका हिंसात्मक गतिविधिपछि महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले पार्टी नेतृत्व परिवर्तनको बहस अघि सारेका छन्।
प्रकाशित मिति: ५ आश्विन २०८२, आइतबार













प्रतिक्रिया