काठमाडाैं । इजरायली सेनाको तीव्र हवाई तथा स्थल आक्रमणले शनिबार मात्र गाजामा ९१ जना प्यालेस्टिनीको ज्यान गएको अल जजिराले जनाएको छ। मृतकहरूमा एक प्रमुख चिकित्सकका आफन्त र उत्तर गाजाबाट भागिरहेका सर्वसाधारण समेत परेका छन्।

आक्रमणले आवासीय घर, विस्थापितका शिविर र नागरिक बोकेको ट्रकलाई समेत निशाना बनाएको थियो। यस क्रममा गाजाको सबैभन्दा ठूलो अस्पताल अल–सिफाका निर्देशक मोहम्मद अबु साल्मियाको परिवार घरमै मारिएको छ।

advertisement

हमासले यस घटनालाई ‘चिकित्सकलाई सहर छोड्न बाध्य पार्ने आतङ्कवादी सन्देश’ भन्दै निन्दा गरेको छ। त्यस्तै, नासर क्षेत्रमा विस्थापित बोकेको ट्रकमा आक्रमण हुँदा कम्तीमा चार जनाको ज्यान गएको छ।

अल जजिराकी संवाददाता हिन्द खोदारीका अनुसार, हजारौँ विस्थापितहरू निरन्तर बमबारी, तोप आक्रमण र ड्रोन आक्रमणबाट ज्यान जोगाउँदै भागिरहेका छन्। इजरायली सेनाले विस्फोटकयुक्त रोबोट प्रयोग गरी क्षेत्र ध्वस्त पारेको र उद्धारकर्मीले फसेका घाइतेहरूसम्म पुग्न नसकेको उनले बताइन्।

अगस्टयता मात्र गाजा सहरमा करिब ४ लाख ५० हजार मानिस विस्थापित भइसकेका छन्। इजरायली सेनाले पछिल्ला दुई हप्तामा २० वटा टावर भवन भत्काएको दाबी गरेको छ। विस्थापितहरू सडक किनारमा त्रिपाल टाँगेर कठिन परिस्थितिमा बस्न बाध्य भएका छन्।

दक्षिणी अल–मवासी क्षेत्रमा पनि अवस्था गम्भीर बनेको छ। डक्टरस् विदाउट बोर्डर्स (एमएसएफ)का मिचेल फोटिआडिसका अनुसार, पानी, स्वास्थ्य सेवा र सरसफाइको अभावले ठुलो स्वास्थ्य संकट निम्त्याउने खतरा बढेको छ।

यसैबीच, हमासले गाजामा बाँकी रहेका ४८ बन्दीहरूको जीवन खतरा बढेको चेतावनी दिएको छ। यसको सशस्त्र शाखा कासम ब्रिगेडले बन्दीहरूको ‘विदाई तस्वीर’ सार्वजनिक गरेको छ।

तेल अभिवमा हजारौँ मानिसले युद्ध अन्त्य गर्न माग गर्दै प्रदर्शन गरेका छन्। प्रदर्शनकारीहरूले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई हमाससँग सम्झौता गरेर बन्दीहरू मुक्त गर्न दबाब दिएका छन्। उनीहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई समेत इजरायललाई सम्झौता गर्न दबाब दिन आग्रह गरेका छन्।

तर अल जजिराका पत्रकार हमदाह सलहुतका अनुसार, यी प्रदर्शनहरूले इजरायली सरकारलाई खासै असर नपारेको छ। बरु नेतान्याहुको दक्षिणपन्थी गठबन्धनले प्रदर्शनलाई ‘शत्रुको पक्षमा काम गर्ने गतिविधि’ भन्दै आलोचना गरेको छ।

बन्दीका परिवारहरूले भने निरन्तर सैन्य कारबाहीले आफ्ना प्रियजनको जीवन जोखिममा परेको भन्दै आक्रोश व्यक्त गरेका छन्। हप्तौँदेखि भइरहेका प्रदर्शनहरू ‘अब पर्याप्त भयो’ भन्ने सन्देश पठाउँदै हाल पश्चिम जेरुसेलममा नेतान्याहुको घरअगाडिसम्म पुगेका छन्।

प्रकाशित मिति: ५ आश्विन २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com