काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीभित्र संरचनात्मक रुपान्तरणको थालनी विधान संशोधनमार्फत गर्नुपर्ने बताएका छन्।

शुक्रबार बाराको कलैया र पर्साको वीरगन्जमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले युवाको प्रतिनिधित्व सुनिश्चित हुने गरी पार्टीको विधान परिमार्जन गर्नुपर्नेमा जोड दिए।

advertisement

महामन्त्री शर्माले आगामी महाधिवेशनदेखि ३० वर्ष मुनिका युवाहरूलाई केन्द्रीय समितिमा समेट्ने व्यवस्था गर्नुपर्ने प्रस्ताव गर्दै ‘३० मुनिका ३०’ अवधारणा अघि सारे। उनका अनुसार, ‘हरेक क्षेत्रबाट महाधिवेशन प्रतिनिधिमा ३० वर्ष मुनिका निश्चित कोटा तोक्ने र ती प्रतिनिधि मात्र उम्मेदवार तथा मतदाता रहने गरी ३० जना युवालाई केन्द्रीय समितिमा निर्वाचित गर्ने प्रावधान हुनुपर्छ।’

युवाको प्रतिनिधित्वसँगै विदेशस्थित जनसम्पर्क समितिबाट पनि केन्द्रीय स्तरमा सहभागिता सुनिश्चित गर्नुपर्नेमा उनले जोड दिए। यसका लागि प्रत्येक महादेशबाट एक–एक जना र मध्यपूर्व क्षेत्रबाट अलग्गै एक जना प्रतिनिधि निर्वाचित गर्ने व्यवस्था गर्नुपर्ने प्रस्ताव राखे।

देश, लोकतन्त्र र पार्टी गम्भीर चुनौतीको सामना गरिरहेको बताउँदै उनले गुटबन्दीको राजनीति तत्काल अन्त्य गर्न नेताहरूसँग आग्रह गरे। ‘गुट जोगाउने नाममा पार्टीलाई कमजोर पार्ने अवस्थाबाट बाहिर निस्कनुपर्छ। विवेकको सिँढी उक्लँदै रुपान्तरणको संकल्प लिनु अपरिहार्य छ,’ उनले भने।

शर्मा हालै बारा र पर्सामा भएका तोडफोड तथा आगजनी घटनाको अवस्थाको अवलोकन गर्न शुक्रबार बिहान रौतहट हुँदै स्थल भ्रमणका लागि पुगेका थिए।

प्रकाशित मिति: ११ आश्विन २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com