काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेता तथा पूर्वराज्यमन्त्री डा. तोसिमा कार्कीले पार्टीभित्रकै संस्थापन पक्षले आफूलाई लक्षित गर्दै मिडिया ट्रायल र साइबर बुलिङ गरिरहेको आरोप लगाएकी छन्। उनले विशेष महाधिवेशनमार्फत खुला प्रतिस्पर्धा गर्न संस्थापन पक्षलाई चुनौती समेत दिएकी छन्।
वक्तव्य जारी गर्दै कार्कीले पार्टीलाई सुदृढ र समयानुकूल रूपान्तरण गर्ने उद्देश्यसहित जिम्मेवार राजनीतिक मुद्दा उठाउँदा पनि आफ्नो चरित्रहत्या गर्ने शैलीमा अभियान चलाइएको गुनासो गरिन्। ‘साइबर बुली र मिडिया ट्रायल गर्ने तथा त्यसलाई मौन समर्थन गर्नेहरूको भण्डाफोर गर्न नपरोस् भन्ने चाहन्छु,’ वक्तव्यमा भनिएको छ।
उनका अनुसार कहिले राजीनामा दिन लाग्यो भनेर अफवाह फैलाउने, कहिले पार्टी सुधारका लागि पेश गरिएको पत्रका बुँदालाई नबुझीकन अतिरञ्जित व्याख्या गर्ने जस्ता क्रियाकलाप भइरहेका छन्। ‘पार्टी सभापतिको आशीर्वाद लिई लाखौँ कार्यकर्ता र शुभेच्छुकको समर्थन पाएको म जिम्मेवारी वहन गर्न सक्षम छु। हिम्मत भए संस्थापनले खुला विशेष महाधिवेशनमै सामना गरोस्,’ उनले चुनौती दिएकी छन्।
कार्कीले प्रचार–प्रोपागाण्डा र हेपाहा शैलीका बोलीसँग आफू नडराउने स्पष्ट गर्दै पार्टीभित्र आन्तरिक लोकतन्त्रको अभ्यास गर्नुपर्ने आवश्यकता दोहोर्याएकी छन्।

प्रकाशित मिति: १२ आश्विन २०८२, आइतबार












प्रतिक्रिया