काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशका विभिन्न स्थानमा बाढी, डुबान र पहिरोबाट ठूलो जनधनको क्षति भएको भन्दै गहिरो दुःख व्यक्त गरेका छन्। उनले अझै पनि जोखिम पूर्ण रूपमा नहटेको बताउँदै सर्वसाधारणलाई उच्च सतर्कता र सावधानी अपनाउन आग्रह गरेका छन्।
आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत सन्देश जारी गर्दै दाहालले हालै पुनः सक्रिय बनेको मौसमी प्रणालीका कारण देशका पूर्वी र मध्य क्षेत्रहरूमा अविरल वर्षा भएपछि बाढी, डुबान र पहिरोले व्यापक क्षति पुर्याएको बताए।
उनका अनुसार इलाम, पाँचथर लगायतका जिल्लाहरूमा हालसम्म २७ जनाको ज्यान गइसकेको छ भने कैयौं व्यक्ति बेपत्ता भएका छन्। त्यस्तै, रसुवासहितका अन्य जिल्लाहरूमा पनि घर, सडक र राजमार्गहरू क्षतिग्रस्त भएका छन्।
दाहालले भनेका छन्, ‘पशु र अन्नबालीमा ठूलो क्षति पुगेको छ, जनजीवन अस्तव्यस्त बनेको छ। यो दुःखद घडीमा ज्यान गुमाउने सबैप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारमा गहिरो समवेदना व्यक्त गर्दछु।’
उनी भन्छन्, ‘घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै, अझै पनि जोखिम नघटेकाले सबै नागरिकलाई सतर्क रहन आग्रह गर्दछु।’
दाहालले आफ्नो पार्टीका सबै तहका संगठनहरूलाई उद्धार, राहत र पुनःस्थापना कार्यमा तत्काल सक्रिय हुन निर्देशन दिएका छन्। साथै, सबै प्रदेश र जिल्लास्तरका पार्टी कार्यालयहरूमा सहायता कक्ष स्थापना गरी राहत कार्यलाई प्रभावकारी बनाउन आग्रह गरेका छन्।
प्रकाशित मिति: १९ आश्विन २०८२, आइतबार












प्रतिक्रिया