काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले हाल देशका विभिन्न क्षेत्रमा देखिएको विद्युत् आपूर्तिको अनियमितता मौसमी कारण र प्राविधिक समस्याका कारण भएको बताएका छन्।
आइतबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारहरूले पछिल्लो समय ‘झ्याप्प-झ्याप्प बिजुली किन गइरहेको हो’ भन्ने प्रश्न सोध्दा मन्त्री घिसिङले मौसमका कारण विद्युत् संरचनामा समस्या उत्पन्न भएको बताए।
उनका अनुसार हालको अविरल वर्षा र हावाहुरीका कारण कतिपय स्थानमा बिजुलीका पोल ढलेका छन् भने कतै तार चुँडिएका छन्, जसले गर्दा अस्थायी रूपमा आपूर्ति प्रभावित भएको हो।
मन्त्री घिसिङले भने, ‘यो आपूर्तिको अभाव होइन, प्राविधिक समस्या हो। अहिले देशभर बिजुलीको माग कम छ, त्यसैले उत्पादनमा कुनै कमी छैन।’
उनले समस्या देखिएका स्थानहरूमा प्राविधिक टोली खटाइइ समाधानका लागि काम भइरहेको जानकारी पनि दिए।
‘जहाँ समस्या छ, त्यहाँ तुरुन्त मर्मत कार्य सुरु गरिएको छ। सामान्य अवस्थामा विद्युत् आपूर्ति छिट्टै स्थिर हुनेछ,’ मन्त्री घिसिङको भनाइ छ।
प्रकाशित मिति: १९ आश्विन २०८२, आइतबार












प्रतिक्रिया