ललितपुर । नेकपा (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति तत्कालीन कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीकै लिखित सिफारिसमा भएको खुलासा गरेका छन्।
शुक्रबार ललितपुरमा सञ्चारमाध्यमका सम्पादकहरूसँगको अन्तरक्रियामा बोल्दै प्रचण्डले भने, ‘राष्ट्र संकटको घडीमा ‘आवश्यकताको सिद्धान्त’ अनुसार जेनजी आन्दोलनको भावनालाई सम्मान गर्दै कार्कीलाई प्रधानमन्त्री नियुक्त गरिएको हो, तर त्यसको औपचारिक सिफारिस भने ओलीले नै गर्नुभएको हो।’
उनका अनुसार, राष्ट्रपतिले ओलीको लिखित सिफारिसका आधारमा सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गरेकी थिइन्।
‘अहिले आएर यो सरकार हावामा बनेको भन्नेहरूलाई सम्झाउन चाहन्छु — सिफारिसकर्तास्वयं केपी ओली नै हुन्,’ उनले भने, ‘हामी त केवल सो प्रक्रियाका साक्षी मात्र थियौं।’
प्रचण्डले देश हाल गम्भीर राजनीतिक संकट र चुनौतीपूर्ण अवस्थामा रहेको स्वीकार गर्दै यसको समाधानका लागि सर्वपक्षीय सहमति अनिवार्य रहेकोमा जोड दिए।
‘राष्ट्र संकटमा छ भन्नेमा अब सबैको सहमति बनिसकेको छ,’ उनले भने, ‘यसको निकासका लागि राजनीतिक दल, नागरिक समाज, पत्रकार र बुद्धिजीवीहरू सबै एकजुट भई राष्ट्रिय सहमतिको बाटो रोज्नैपर्छ।’
प्रकाशित मिति: २४ आश्विन २०८२, शुक्रबार












प्रतिक्रिया