काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जेन–जी आन्दोलनको वास्तविक नेतृत्व र प्रतिनिधित्वबारे अन्तरिम सरकारले स्पष्ट धारणा लिनुपर्ने बताएका छन्।

शनिबार सामाजिक सञ्जालमार्फत विचार व्यक्त गर्दै उनले भनेका छन्, ‘असफलता टुहुरो हुन्छ तर सफलताका सयजना पिता हुन्छन् भन्ने भनाइ यहाँ पनि सान्दर्भिक देखिन्छ।’ उनले आन्दोलनलाई सही दिशामा लैजान त्यसका वास्तविक प्रतिनिधि पहिचान गर्नुपर्नेमा जोड दिएका छन्।

advertisement

डा. भट्टराईले जेन–जी विद्रोहलाई यसको ऐतिहासिक र परिवर्तनकारी लक्ष्यसम्म पुर्‍याउन अन्तरिम सरकारले सावधानीपूर्वक कदम चाल्नुपर्ने सुझाव दिएका छन्। उनका अनुसार आन्दोलनमा सुरुदेखि औपचारिक पहल गर्दै सडकमा नेतृत्व गर्नेहरूलाई नै मुख्य प्रतिनिधि मानिनु उपयुक्त हुन्छ।

‘भदौ २३ गते जब आन्दोलन सुरु भयो, त्यसबेला अग्रपंक्तिमा रहेर नेतृत्व गर्नेहरू नै यसको वास्तविक प्रतिनिधि हुन्,’ उनले लेखेका छन्, ‘पछि आएर घुसपैठ गर्ने, प्रतिगामी नारा लगाउने वा गलत गतिविधि गर्नेहरूलाई यथोचित रूपमा चिनेर व्यवहार गर्नुपर्छ।’

उनले थप भनेका छन्, ‘विद्रोहको परिणाम अहिले स्पष्ट छैन, त्यसैले अन्तरिम सरकारले संयमता, विवेक र संवेदनशीलताका साथ अघि बढ्नुपर्छ।’

यी हुन् बाबुरामका ४ सुझावहरूः

विगतका आन्दोलनका गल्तीकमजोरीबाट सिक्दै जेन-जी विद्रोहलाई यसको ऐतिहासिक परिवर्तनकारी ध्येयसम्म पुर्‍याउन निम्न कुराहरूमा ध्यान दिऊँ:

१. अंग्रेजीमा एउटा प्रसिद्ध भनाइ छ: ‘सक्सेस हास हन्ड्रेड फादर्स; डिफिट इज एन अर्फान्’ अर्थात्, ‘सफलताका सयजना पिता हुन्छन्; असफलता टुहुरो हुन्छ’। नेपालीमा पनि एउटा त्यस्तै भनाइ छ: ‘ माछा देखे भित्र हात, सर्प देखे बाहिर हात!’

अझैसम्म यो विद्रोहको परिणाम के हुन्छ भन्ने चित्र प्रष्ट भैसकेको छैन। तैपनि अहिले खासगरी जेन-जी का वास्तविक प्रतिनिधि को हुन्? यसमा को कसको के के भूमिका रह्यो? आदिबारे केही अन्योल जस्तो देखिनु विडम्बनापूर्ण छ।

यसवारे अन्तरिम सरकार प्रष्ट रहनुपर्छ। भदौ २३ गते जेन-जी आन्दोलन शुरू हुँदा जसले औपचारिक रूपमा पहल गरेका र सडकमा नेतृत्व गरेका थिए तिनलाई नै मुख्य प्रतिनिधि मान्ने र जसले पछि सहयोग गरे तिनलाई सहयोगी मान्ने कुरा नै सही हुन्छ। पछि घुसपैठ गरेर प्रतिगामी नारा लगाउने र गलत हर्कत गर्नेहरूलाई यथोचित व्यवहार गर्नु उचित हुन्छ।

साथै अर्को गम्भीर कुरा, पटकपटक सत्तामा रहेर जसका गलत हर्कतले यो युवाविद्रोह सिर्जना गर्यो वा जसले अहिलेको आन्दोलनमा पनि घुसपैठ गरेर/गराएर सार्वजनिक सम्पत्ति नष्ट गराए तिनैमध्ये कोही साखुल्ले बनेर अहिले गोहीको आँसु झार्दैअघि आउँछन् भने तीबाट पनि सतर्क रहनैपर्छ।

२. अहिलेको अन्तरिम सरकार कसैको दयामाया र कृपाले नभै जेन-जी विद्रोहको बलमा र ऐतिहासिक आवश्यकताले गठन भएको हुँदा यसले भित्रीबाहिरी कुनै शक्तिको डरत्रास नमानी आफ्नो निष्ठा आन्दोलनकारीप्रति रहेकोमा प्रष्ट हुँदै प्राप्त कार्यादेश पूरा गर्नेतर्फ दत्तचित्त भएर लाग्नुपर्छ। सत्कर्मको जश इतिहासले अवश्य दिन्छ भन्ने कुरामा ढुक्क रहनुपर्छ।

३. मुख्य कार्यकारी अंग अन्तरिम सरकार बाहेक राज्यका अरू स्थायी अंगहरू ( कर्मचारीतन्त्र, न्यायालय, सुरक्षा अंगहरू, संवैधानिक आयोगहरू आदि) र प्रदेश र स्थानीय सरकारहरूले पनि आफुलाई यो बदलिएको परिवेशमा जेन-जी विद्रोहको दूरगामी महत्व र असरलाई आत्मसात गर्दै कुनै किन्तुपरन्तु नगरी सहयोग गर्नुपर्छ। कथंकदाचित चित्त नबुझे पदत्याग गरेर मार्ग प्रशस्त गर्नु उचित हुन्छ तर असहयोग र अन्तरध्वंश गर्नु हुँदैन।

४. लोकतन्त्रमा अर्को महत्वपूर्ण तर ओझेलमा पर्दै आएको बिषय, विशाल गैर-राज्य क्षेत्रका उद्यमी-व्ययवसायी, सार्वजनिक बौद्धिक र आम नागरिकहरूले पनि सचेतनापूर्वक यो अन्तरिम कालमा आफ्नो दायित्व जिम्मेवारीपूर्वक र सक्रियतासाथ निर्वाह गर्नुपर्छ।

प्रकाशित मिति: २५ आश्विन २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com