काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–८ मा आपसी विवादका क्रममा भएको झगडामा एक युवकको निर्मम हत्या भएको छ।

शुक्रबार राति स्थानीय पसलमा रक्सी सेवन गर्ने क्रममा उत्पन्न विवादपछि २८ वर्षीय केशरसिंह बुढाको घाँटी रेटेर हत्या गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

advertisement

घटनामा संलग्न भएको आरोपमा सोही ठाउँका १८ वर्षीय बलबहादुर विक र १९ वर्षीय गंगा बुढा क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहका अनुसार रक्सी सेवनपछि गालीगलौज हुँदै झगडा चर्किँदा विक र क्षेत्रीले धारिलो हतियार प्रयोग गरी राति करिब ११ः४५ बजे बुढाको हत्या गरेका थिए।

हत्या गरेपछि उनीहरू मृतकको टाउको बोकेर आफन्तको घर पुगेका थिए। आफन्तले घटना लुकाउन नहुने भन्दै प्रहरीमा जानकारी दिन सुझाएपछि उनीहरू प्रहरी कार्यालयतर्फ जाँदै गर्दा नियन्त्रणमा लिइएको डीएसपी सिंहले बताए।

‘उनीहरू हातमा टाउको बोकेर आउँदै गर्दा नै पक्राउ गरिएका हुन्,’ डीएसपी सिंहले भने, ‘प्रारम्भिक अनुसन्धानमा उनीहरू र मृतकबीच पहिल्यै परिचय नभएको पाइएको छ।’

उनका अनुसार पसलमा बसेर रक्सी खाने क्रममा एकले अर्कोलाई अपशब्द प्रयोग गरेपछि विवाद सुरु भएको र आवेशमै हत्या भएको अनुमान गरिएको छ।

‘यो पूर्वयोजना होइन, गालीगलौजकै झगडाले यस्तो भयावह रूप लिएको देखिन्छ,’ डीएसपी सिंहले थपे। ‘दुवै अभियुक्तलाई नियन्त्रणमा लिएर विस्तृत अनुसन्धान सुरु गरिएको छ।’

प्रकाशित मिति: २५ आश्विन २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com