काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले राष्ट्रपति रामचन्द्र पौडेललाई राष्ट्रिय संकटको बेला देशलाई सम्बोधन गर्ने नैतिक साहस नदेखाएको भन्दै आलोचना गरेका छन् ।

सामाजिक सञ्जाल एक्स (पूर्व ट्विटर) मा आइतबार प्रकाशित एक पोस्टमार्फत मिश्रले देशको आन्तरिक अवस्था र भूराजनीतिक परिस्थितिले निकट भविष्यमा अझ गम्भीर संकट निम्त्याउन सक्ने चेतावनी दिएका छन् । उनले सबै राजनीतिक दललाई ‘नवीन समझदारी’ अपनाउन आग्रह गर्दै राष्ट्रिय हितलाई केन्द्रमा राखी साझा सहमतिको बाटो खोज्नुपर्नेमा जोड दिएका छन् ।

advertisement

मिश्रले लेखेका छन्, “मेरो दृष्टि दोष हो कि देशलाई दशा लागेको हो, छुट्याउन सकिरहेको छैन ।” उनले भदौ २३ र २४ गतेको राजनीतिक घटनाक्रमलाई स्मरण गर्दै त्यसबेला राष्ट्रपतिलाई सेनाले लुकाउनुपर्ने अवस्था देशका लागि लज्जास्पद भएको टिप्पणी गरेका छन् ।

उनका अनुसार, ‘राष्ट्रिय संकटको क्षणमा राष्ट्रपतिले राष्ट्रिय टेलिभिजनमार्फत जनतालाई सम्बोधन गर्ने नैतिक साहस देखाउन सकेनन्, बरु सेनाले उहाँलाई लुकाउनु पर्‍यो — यो राष्ट्रका लागि दुःखद र अपमानजनक अवस्था हो ।’

मिश्रले भविष्यमा यस्ता अवस्थाको पुनरावृत्ति हुन नदिन सबै राजनीतिक शक्ति र पक्षहरूबीच नयाँ समझदारी आवश्यक भएकोमा जोड दिएका छन् । ‘नेपालको आन्तरिक परिस्थिति र भूराजनीतिक जटिलताका कारण भदौ २३–२४ कोभन्दा ठूलो संकट भविष्यमा आउँदैन भन्ने सोच्नु चरम अपरिपक्वता हुनेछ,’ उनले लेखेका छन् ।

देशलाई थप संकटतर्फ धकेल्ने होइन, मिलेर निकास खोज्नुपर्ने आवश्यकता औंल्याउँदै उनले थपे, ‘देशको हितलाई केन्द्रमा राखी सबैले सबैलाई क्षमा गर्दै अगाडि बढौँ । सबै शक्ति एक भएर अघि बढ्दा कसको के बिग्रिन्छ? के फेरि अर्को संकट निम्त्याएर दोषारोपणको राजनीति दोहोर्याउने रहर अझै बाँकी छ?’

प्रकाशित मिति: २६ आश्विन २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com