काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले मुलुक अहिले ठूलो शून्यतामा प्रवेश गर्न सक्ने जोखिम कायमै रहेको चेतावनी दिएका छन्। उनले देशलाई गलत मार्गमा जान नदिन सबै सरोकारवालाहरू गम्भीर हुनुपर्नेमा जोड दिएका छन्।

आइतबार काठमाडौंको सञ्चारग्रामस्थित नेपाल पत्रकार महासंघको कार्यालयमा पुगेका मन्त्री खरेलले निर्वाचन सुनिश्चित गर्न सरकार सक्रिय रहेको बताए। उनका अनुसार, अब दलहरूसँगको संवादहीनता अन्त्य भइसकेको छ र आगामी फागुन २१ मा तय भएको निर्वाचन निष्पक्ष तथा भयरहित रूपमा सम्पन्न गरिने छ।

advertisement

दुई दिने जेन–जी आन्दोलनपछि गठित अन्तरिम सरकारले आन्दोलनका क्रममा भएको तोडफोड, आगजनी र घुसपैठबारे छानबिन गरी दोषीलाई कारबाही गर्ने विषयमा कुनै द्विविधा नराख्ने पनि मन्त्री खरेलले स्पष्ट पारेका छन्।

उनले सरकारको हालको ६ महिनाको अवधिमा जनतालाई अनुभूति हुनेगरी सुशासन लागू गर्ने र भ्रष्टाचार नियन्त्रणको सुरुवाती कदम चालिने उल्लेख गरे।

त्यसैगरी मन्त्री खरेलले अनलाइन सञ्चार माध्यमको दर्ता र नवीकरणको प्रक्रिया सम्भवत: तिहारअघि सुरु हुने जानकारी दिए। साथै, पत्रकारहरूलाई सामाजिक सुरक्षाको दायरामा ल्याउन मन्त्रालयले आवश्यक गृहकार्य अगाडि बढाइरहेको पनि उनले बताए।

मन्त्री खरेलले निष्कर्ष निकाल्दै भने, ‘मुलुक निर्वाचनको मार्गमा स्थिर रहोस्, आन्दोलन र अस्थिरताले देशलाई प्रभावित नहोस् भन्ने सुनिश्चित गर्न सबैको सक्रियता आवश्यक छ।’

प्रकाशित मिति: २६ आश्विन २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com