काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गरिएको छ ।
मंगलबार बिहान दर्ता भएको उक्त रिटबारे जानकारी दिंदै सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले सरकारको वैधानिकता र प्रतिनिधि सभा विघटनसम्बन्धी तीनवटा रिट परेको बताए । उनका अनुसार, एउटा रिट सरकारले असंवैधानिक निर्णय गरेको दाबीसहित दर्ता भएको हो भने बाँकी दुई रिट प्रत्यक्ष रूपमा प्रतिनिधि सभा विघटनको निर्णयविरुद्ध परेका हुन् ।
प्रवक्ता कोइरालाले भने, ‘रिट हाल अध्ययनको चरणमा छन् । अध्ययन पूरा भएपछि कानुनी प्रक्रियाअनुसार अगाडि बढाइनेछ ।’
भदौ २४ गते ‘जेनजी’ प्रदर्शनका क्रममा सर्वोच्च अदालत भवनमा आगलागी भएर पूर्ण रूपमा जलेपछि न्यायिक प्रक्रिया ठप्प भएको थियो । उक्त आगलागीमा झन्डै ८० प्रतिशत मुद्दाका मिसिल नष्ट भएका थिए, जसका कारण पुराना मुद्दा तत्काल अघि बढाउन सकिएको थिएन ।
आगलागीपछिका करिब तीन सातासम्म निष्क्रिय रहेको सर्वोच्च अदालतले मंगलबारदेखि पुनः नयाँ मुद्दा दर्ता गर्न सुरु गरेको हो । नयाँ मुद्दा दर्ता सुरु भएको पहिलो दिनमै प्रतिनिधि सभा विघटनसम्बन्धी रिट परेको छ, जसले राजनीतिक परिदृश्यलाई फेरि तातो बनाएको छ ।
‘जेनजी’ आन्दोलनपछि भदौ २७ गते सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएको थियो । सोही रात प्रधानमन्त्री कार्कीकै सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा विघटनको घोषणा गरेका थिए । यही निर्णयविरुद्ध दायर रिटले अब नेपालको राजनीतिक संकट पुनः न्यायिक चरणमा प्रवेश गरेको छ ।
प्रकाशित मिति: २८ आश्विन २०८२, मंगलबार













प्रतिक्रिया