काठमाडौं । नेपाली कांग्रेसमा आन्तरिक विवाद बढिरहेका बेला सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा तथा विश्वप्रकाश शर्माबीच आज महत्वपूर्ण छलफल हुने भएको छ।
केन्द्रीय कार्यसम्पादन समिति र केन्द्रीय समिति बैठक बस्नुअघि सभापति देउवाले पार्टीका शीर्ष पदाधिकारीहरूसँग सानेपास्थित केन्द्रीय कार्यालयमा परामर्श बैठक बोलाएका हुन्। कार्यसम्पादन समिति बिहान ११ बजे र केन्द्रीय समिति दिउँसो १ बजे बस्ने तय छ।
पार्टी स्रोतका अनुसार आजको छलफलले आगामी महाधिवेशनको मिति, कार्यसमितिको म्याद, विशेष महाधिवेशनमा जाने वा नजाने लगायतका विषयमा सहमति खोज्नेछ। जेनजी आन्दोलनपछि देउवा र महामन्त्रीद्वयबीच औपचारिक भेट पहिलोपटक हुन लागेको हो।
महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले मंसिरभित्रै नियमित महाधिवेशन गर्नुपर्ने प्रस्ताव अघि सारेका छन्। नेता शेखर कोइरालाले पनि उनीहरूकै पक्षमा समर्थन जनाएका छन्। तर देउवा पक्षले तयारी नपुगेको कारण देखाउँदै चुनावपछि वैशाखमा मात्रै महाधिवेशन गर्न सकिने धारणा सार्वजनिक गरेको छ।
महामन्त्री थापा र शर्मा भने मंसिरभित्र महाधिवेशन सम्भव नभए विशेष महाधिवेशनमा जानुपर्ने पक्षमा छन्। यसैबीच महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर संकलन अभियान पनि तीव्र बनाइएको छ। अभियानका संयोजक गुरूराज घिमिरेका अनुसार हालसम्म ५४ प्रतिशत प्रतिनिधिले विशेष महाधिवेशनको मागमा हस्ताक्षर गरिसकेका छन्। ती हस्ताक्षर आजै केन्द्रीय कार्यालयमा बुझाउने तयारी भइरहेको उनले बताए।
‘सभापति र महामन्त्रीबीचको छलफलपछि एजेन्डा टुंगो लाग्ने अपेक्षा गरिएको छ,’ घिमिरेले भने, ‘हामी विशेष महाधिवेशनको माग सहित हस्ताक्षर बुझाउँदैछौं।’
जेनजी आन्दोलनका क्रममा भदौ २३ र २४ गते सभापति देउवा दम्पतीमाथि आक्रमण भएपछि देउवा सार्वजनिक रूपमा देखिएका थिएनन्। आज भने उनी दिउँसो १ बजे बस्ने केन्द्रीय समिति बैठकमा उपस्थित हुने तयारीमा रहेको प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिएका छन्।
सभापति देउवाले पार्टी नेतृत्व आफैं निरन्तरता दिने वा कार्यवाहक सभापति तोक्ने भन्ने विषयमा भने अहिलेसम्म निर्णय भइसकेको छैन।
प्रकाशित मिति: २८ आश्विन २०८२, मंगलबार












प्रतिक्रिया