काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारमा नहुँदा पनि ‘म नै राज्य हुँ’ भन्ने प्रवृत्तिका व्यक्तिहरूमाथि मौलिक तरिकाले ‘उपचार’ भइरहेको बताएका छन् ।

अछामका मदन बुढाले सुदूरपश्चिमको राजनीतिक प्रतिनिधित्वको मागसहित सुरु गरेको आमरण अनसन मंगलबार तोडाउने क्रममा मन्त्री अर्यालले यस्तो अभिव्यक्ति दिएका हुन् ।

advertisement

उनले सरकार परिवर्तन भए पनि कतिपय व्यक्तिहरू अझै पनि सत्ताको हैसियतमा रहेकोजस्तो व्यवहार गरिरहेको बताए । अर्यालले भने, ‘सरकारमा नभए पनि म त सरकारमै छु, म नै राज्य हुँ भन्ने प्रवृत्ति बढ्दै गएको थियो, त्यसको अर्गानिक तरिकाले उपचार गर्दैछौं हामी । त्यो विकृति हो, त्यो रोग हो, त्यसको उपचार स्वदेशी ढंगले भइरहेको छ ।’

मन्त्री अर्यालले यस्ता प्रवृत्ति राज्य प्रणालीका लागि हानिकारक रहेको बताउँदै, त्यसलाई संस्थागत रूपमा नियन्त्रण गर्ने प्रतिबद्धता जनाए । उनका अनुसार, सरकार फेरिए पनि ‘सत्ताको प्रभाव’ प्रदर्शन गर्ने प्रवृत्ति समाप्त गर्नुपर्ने बेला आएको छ ।

उनले थपे, ‘सरकारको नयाँ अनुहार देख्नुभयो, तर पुरानो सत्ताको प्रभाव कहाँ हरायो ? अहिले पनि कतिपय व्यक्तिहरू सेनामेना सहित हिँडिरहेका छन् — कसैको पछाडि ५२ जना, कसैको ४७ जना । उनीहरू आफूलाई नै राज्य सम्झेर ‘आई एम द स्टेट’ भन्ने हदसम्म पुगेका छन् ।’

अर्यालले यस्तो व्यवहारलाई असंवैधानिक र लोकतान्त्रिक मूल्यविपरीत ठहर गर्दै त्यसविरुद्ध सरकार दृढतापूर्वक अघि बढ्ने स्पष्ट सन्देश दिएका छन् ।

प्रकाशित मिति: २८ आश्विन २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com