काठमाडौं । प्रतिनिधि सभा विघटनसम्बन्धी विवादमा सभामुख देवराज घिमिरेले बुधबार राजनीतिक दलहरूसँग औपचारिक छलफल गर्ने भएका छन्। उनले विघटित प्रतिनिधि सभामा रहेका दलका प्रमुख सचेतकहरूलाई छलफलका लागि बोलाएका हुन्।
सभामुखले दलहरूको धारणा संकलन गरी प्रतिनिधि सभा विघटन प्रकरणबारे आफ्नो कदम तय गर्ने तयारी गरेका छन्। छलफलमा सहभागी हुने दलहरूलाई पार्टीको आधिकारिक धारणा लिएर आउन अनुरोध गरिएको स्रोतले जनाएको छ।
सभामुखले दलहरूको मत सुनेपछि पूर्वमहान्यायाधिवक्ता, नेपाल बार एसोसिएसन र सर्वोच्च बारका पदाधिकारीहरूसँग पनि कानुनी पक्षबारे परामर्श गर्ने तयारी गरेको बुझिएको छ।
यस विषयमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले भने सभामुखको बुझाइ र तयारी बुझिसकेपछि मात्र पार्टीको धारणा स्पष्ट रूपमा राख्ने बताएका छन्।
‘पहिले सभामुखको बुझाइ बुझ्नेछौँ, त्यसपछि हाम्रो पार्टीको धारणा प्रस्तुत गर्नेछौँ,’ पाण्डेले भने।
प्रकाशित मिति: २८ आश्विन २०८२, मंगलबार












प्रतिक्रिया