धादिङ । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देश अहिले माओवादी केन्द्रका एजेन्डा र दृष्टिकोणकै मार्गमा अघि बढिरहेको दाबी गरेका छन्।

थाक्रे गाउँपालिकाको महादेवेसीमा आयोजित पार्टी बैठकलाई सम्बोधन गर्दै उनले माओवादी केन्द्रले देशको नेतृत्व पुनः लिनुपर्ने आवश्यकता औंल्याए।

advertisement

उनका अनुसार मुलुक अहिले जटिल राजनीतिक र आर्थिक परिस्थितिबाट गुज्रिरहेको छ, र यस्तो अवस्थामासमेत माओवादी केन्द्र संविधान, गणतन्त्र र जनताको पक्षमा अटल रूपमा उभिएको छ।

‘जेन-जी आन्दोलन सुरु हुनुभन्दा पहिले नै उनीहरूको आवाजलाई समर्थन गर्ने पहिलो राजनीतिक शक्ति माओवादी केन्द्र हो,’ दाहालले भने, ‘आज पनि जेन-जीहरूको वास्तविक प्रतिनिधित्व हाम्रो पार्टीले नै गर्छ भन्ने कुरा प्रमाणित भइसकेको छ।’

सरकारमा रहेर आन्दोलनमाथि दमन गर्नेहरू र सडकमा समर्थन जनाउनेहरूबीचको भिन्नता स्पष्ट पार्दै उनले थपे, ‘हामी उनीहरू जस्ता होइनौं। माओवादी केन्द्रले व्यवहारमै देखाएको छ— जेन-जीहरूको आवाज र आन्दोलनको सारसंगत पक्षमा सधैं उभिएको पार्टी माओवादी केन्द्र हो।’

आगामी निर्वाचनबारे कार्यकर्तालाई आत्मविश्वासका साथ तयारीमा जुट्न उनले आग्रह गरे। ‘निर्वाचन नहुने भ्रममा बस्नु हुँदैन,’ दाहालले भने, ‘निर्वाचन घोषणा भइसकेको छ, अब त्यसलाई सुनिश्चित र सफल बनाउन हाम्रो पार्टी अग्रणी भूमिकामा रहनुपर्छ।’

उनले पाँच पार्टीसँग एकता प्रक्रिया अघि बढिरहेको जानकारी दिँदै माओवादी केन्द्रले जेन-जी आन्दोलनका मागअनुसार नेतृत्व तहमा नयाँ पुस्तालाई अगाडि ल्याउने निर्णय गरिसकेको बताए। पार्टीलाई समयको मागअनुसार पुनर्संरचना गर्दै अघि बढ्ने प्रतिबद्धतासमेत उनले दोहोर्याए।

दाहालका अनुसार संविधान निर्माणदेखि माओवादी केन्द्रले उठाएका एजेन्डा र जेन-जीको मागबीच समानता रहेको छ। ‘देश अहिले हाम्रो पार्टीले अघि सारेको दिशामा अघि बढिरहेको छ,’ उनले भने, ‘अबको नेतृत्व पनि माओवादी केन्द्रकै हातमा आउनु समयको आवश्यकता हो।’

प्रकाशित मिति: २९ आश्विन २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com