काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले कर्णाली राजमार्गको स्तरोन्नति तथा कालिकोटको नाग्मदेखि मुगुको गमगढीसम्म सडक कालोपत्रे गर्नका विषयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङसँग भेटवार्ता गरेका छन्।
शाहीले आज सामाजिक सञ्जालमार्फत सो भेटबारे जानकारी दिंदै कर्णाली राजमार्गका विभिन्न खण्डको प्राविधिक काम (एआइ, डिपिआर, वाल तथा पुल निर्माण) सम्पन्न भइसकेको र अब केवल कालोपत्रे कार्य बाँकी रहेको बताए। उनका अनुसार विगत तीन वर्षमा सिजा क्षेत्रमा ६ किलोमिटर बाटो कालोपत्रे भएको छ भने जुम्ला–जाजरकोट सडकखण्डको जुम्ला तर्फको भाग पूर्ण रूपमा कच्ची बाटो खनिएको छ।
त्यस्तै, जुम्ला सदरमुकाम खलङ्गादेखि नाकमा सम्मको ३२ किलोमिटर सडक कालोपत्रे सहित स्तरोन्नति हुँदै गएको र सो क्षेत्रका विभिन्न पुल निर्माण कार्य पनि अगाडि बढेको उनले उल्लेख गरे। जुम्ला खलङ्गादेखि तलफी र पेरेसम्मका सडकका लागि चालु आर्थिक वर्षमा करिब १० करोड रुपैयाँ विनियोजन गरिएको जानकारी समेत उनले दिए।
शाहीका अनुसार, जुम्लाकोट जाने बाटोको स्तरोन्नति र तिलाखोला पुल निर्माण कार्य सम्पन्न भइसकेको छ। सिन्जा क्षेत्रमा निर्माण गर्नुपर्ने पाँचवटा पुलमध्ये तीनवटा सकिएका छन् भने दुईवटा पुल जग्गा विवादका कारण रोकिएका छन्।
उनले मन्त्री घिसिङलाई ठेकेदारहरूले ढिलाइ गरेको कामबारे जानकारी गराउँदै तत्काल काम अगाडि बढाउन आग्रह गरे।
शाहीले भने, “जुम्ला सदरमुकाम खलङ्गाभित्रको बाटोका लागि बजेट छुट्टिएको भए पनि ठेकेदारले काम अलपत्र पारेका छन्। अब ढिलाइ गर्न पाइँदैन, काम नगर्ने ठेकेदारमाथि कानुनी कारबाही हुनुपर्छ।”
प्रकाशित मिति: ३० आश्विन २०८२, बिहिबार











प्रतिक्रिया