काठमाडौं । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले देशमा मौलाएको नीतिगत भ्रष्टाचारले समग्र विकास प्रक्रिया अवरुद्ध भएको बताएका छन्।

मंगलबार गृहजिल्ला सिरहाको भ्रमणका क्रममा लहानस्थित जेन–जी समूहद्वारा आयोजित सम्मान तथा भेटघाट कार्यक्रममा बोल्दै मन्त्री गुप्ताले शिक्षा, स्वास्थ्य, खेलकुदलगायत सबै क्षेत्रमा नीतिगत भ्रष्टाचार गहिरो रूपमा फैलिएपछि जनतामा असन्तुष्टि र विद्रोहको भावना बढेको बताए।

advertisement

देशमा विकास रोकिनुका मूल कारण नीतिगत भ्रष्टाचार नै हो, उनले भने, यही प्रवृत्तिको अन्त्यका लागि जेन–जी आन्दोलनमा युवाहरूले बलिदान दिनुपर्‍यो।

मन्त्री गुप्ताले जेन–जी आन्दोलनलाई भ्रष्टाचार अन्त्य र रोजगारी सिर्जनाका मागमा केन्द्रित जनआन्दोलनको रूपमा व्याख्या गर्दै भने, यो आन्दोलनले युवाको आवाज र आकाङ्क्षा प्रष्ट देखाएको छ। अब सरकारले युवाको सोचअनुसार नीति बनाउनुपर्छ।

कार्यक्रममा उनले लहानस्थित खेलकुद क्षेत्रमा रहेका विवाद र अनियमितताको पनि चर्चा गरे। उनका अनुसार बलान पुल नजिकको सात बिघा पाँच कट्ठा १७ धुर जग्गाको उचित मूल्य नउठेको र त्यसमा पनि नीतिगत भ्रष्टाचार भएको छ। यो फाइल म आफैंले खोजी गरिरहेको छु, उनले स्पष्ट पारे।

गृहजिल्ला भ्रमणका क्रममा मन्त्री गुप्ताले लहान–१५ का जेन–जी सहिद विजय चौधरीको परिवारसँग भेट गरी श्रद्धाञ्जली अर्पण गरे। उनले सहिदका सपना पूरा गर्न र परिवारलाई बेवास्ता हुन नदिने प्रतिबद्धता जनाए।

मन्त्री गुप्ताले आगामी दिनमा सिरहाको खेलकुद पूर्वाधार निर्माण र युवा कार्यक्रमका लागि विशेष पहल गर्ने घोषणा पनि गरे।

प्रकाशित मिति: ११ कार्तिक २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com