काठमाडौं। नेपाली महिला फुटबल टोलीले उत्कृष्ट प्रदर्शन गर्दै भारतलाई पेनाल्टी सुटआउटमा पराजित गरेको छ। गोलरक्षक अन्जना राना मगरको शानदार खेलका कारण नेपालले रोमाञ्चक जित दर्ता गर्न सफल भएको हो।

निर्धारित ९० मिनेटको खेल १-१ गोलको बराबरीमा सकिएपछि नतिजा पेनाल्टी सुटआउटबाट तय गरिएको थियो, जहाँ नेपालले भारतलाई ३-० ले हरायो।

advertisement

पहिलो हाफमै दुवै टोलीले गोल गरेका थिए। खेलको ३०औं मिनेटमा भारतकी सौम्य गोगुलोथले नेपाली डिफेन्डर निशा थोकरको मिस पासको फाइदा उठाउँदै गोल गरिन्। तर, पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा कप्तान अनिता बस्नेतको कर्नर पासमा रश्मिकुमारी घिसिङको हेड गोलबाट नेपालले खेल बराबरीमा ल्यायो।

पेनाल्टी सुटआउटमा गोलरक्षक अन्जना राना मगर नायक बनिन्। उनले भारतका दुई निर्णायक प्रहार बचाउ गर्दै नेपाललाई जित दिलाइन्।

यो खेल अनौपचारिक मैत्रीपूर्ण प्रतिस्पर्धा थियो। नेपाली टोलीका मुख्य प्रशिक्षक नविन न्यौपानेले अघिल्लो खेलबाट १० खेलाडी परिवर्तन गर्दै नयाँ खेलाडीहरूलाई अवसर दिएका थिए। नियमित कप्तान सावित्रा भण्डारी (साम्बा) अनुपस्थित हुँदा टोलीको नेतृत्व अनिता बस्नेतले गरेकी थिइन्।

भारतले पनि आफ्नो सुरुवाती ११ मा नयाँ खेलाडीहरूलाई मौका दिएको थियो।

प्रकाशित मिति: १२ कार्तिक २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com