काठमाडौं । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीचको राजनीतिक सहकार्य आगामी स्थानीय तहको निर्वाचनपछि पार्टी एकतासम्म पुग्न सक्ने संकेत देखिएको छ । तत्काल एकताको सम्भावना नरहेको दुवै दलका नेताहरूले बताउँदै आए पनि चुनावी तालमेल र त्यसको परिणामले भावी राजनीतिक सम्बन्ध निर्धारण गर्ने देखिएको छ ।

नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार पार्टी एकता घोषणा सभामा एमालेसहित सबै कम्युनिस्ट शक्तिलाई एकताबद्ध हुन आह्वान गरेपछि दुई दलबीचको एकताको बहस पुनः चुलिएको हो । उनले देशको वर्तमान अवस्था चुनौतीपूर्ण रहेको भन्दै केपी शर्मा ओली, मोहनविक्रम सिंह, मोहन वैद्य र नेत्रविक्रम चन्द नेतृत्वका कम्युनिस्ट समूहलाई समेत एकताको अभियानमा सहभागी हुन आग्रह गरेका थिए ।

यसअघि कात्तिक ७ गते प्रचण्डले एमालेसँग तत्काल पार्टी एकता सम्भव नरहेको बताएका थिए । एमालेको राजनीतिक पृष्ठभूमि र विगतका गतिविधिको समीक्षा आवश्यक रहेको उनको भनाइ थियो । तर, १२ दिनपछि सबै कम्युनिस्ट शक्तिलाई एकताबद्ध हुन गरेको आह्वानलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ ।

प्रचण्ड नेतृत्वको नेकपाले माओवादी केन्द्र, एकीकृत समाजवादीसहित विभिन्न वामपन्थी घटकसँग एकता गरेर आफ्नो संगठन विस्तार गरिरहेको छ । उमा भुजेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग समेत एकता गरेपछि २७ घटक समेटिएको उनको दाबी छ । अब थप वामपन्थी समूहलाई समेटेर एउटै कम्युनिस्ट पार्टी बनाउने उनको लक्ष्य छ ।

यद्यपि, नेकपाका प्रवक्ता प्रकाश ज्वालाले एमालेसँग तत्काल पार्टी एकताको सम्भावना नरहेको स्पष्ट पारेका छन् । उनका अनुसार दुवै दलबीच राष्ट्रिय मुद्दामा सहकार्य गर्ने र आगामी स्थानीय तहको निर्वाचनमा कम्युनिस्ट घटकबीच चुनावी तालमेल गर्ने समझदारी छ ।

ज्वालाले चुनावी परिणाम अनुकूल आएमा एमालेसँग पार्टी एकताको सम्भावना पनि खुल्न सक्ने बताएका छन् । उनका अनुसार अहिलेको सहकार्यलाई तत्काल पार्टी एकताको प्रक्रियाका रूपमा बुझ्नु उचित हुँदैन ।

गत साउन ९ गते एमाले र नेकपाबीच प्रदेश तहमा सत्ता सहकार्य गर्ने सहमति भएको थियो । संघीय सरकारमा दुवै दल प्रतिपक्षमा पुगेपछि प्रदेशमा सहकार्यको बाटो रोजेका उनीहरूले आगामी स्थानीय निर्वाचनसम्म राजनीतिक सम्बन्धलाई निरन्तरता दिने रणनीति लिएका छन् ।

एमाले सचिव महेश बस्नेतले पनि प्रचण्डसहितका नेताहरू सहकार्यको बाटोमा अघि बढेकोमा सकारात्मक प्रतिक्रिया दिएका छन् । पछिल्लो राजनीतिक घटनाक्रम, बाह्य हस्तक्षेप र राज्यका संस्थामाथि परेको दबाबले राष्ट्रिय हित र संस्थागत स्थायित्वका विषयमा साझा दृष्टिकोण आवश्यक बनाएको उनको भनाइ छ ।

एमाले र माओवादीबीचको एकताको इतिहास भने उतारचढावपूर्ण छ । २०७४ सालको निर्वाचनमा चुनावी गठबन्धन गरेका दुई दलले २०७५ जेठ ३ गते एकता गरी नेपाल कम्युनिस्ट पार्टी गठन गरेका थिए । प्रतिनिधिसभामा झन्डै दुई तिहाइको समर्थनसहित सरकार बनाएको उक्त पार्टी आन्तरिक शक्ति संघर्षका कारण तीन वर्ष नपुग्दै विभाजित भएको थियो ।

त्यसपछि पनि एमाले र माओवादीबीच पटक–पटक सत्ता सहकार्य भए पनि सम्बन्ध लामो समय टिक्न सकेन । यही राजनीतिक पृष्ठभूमिका कारण दुवै दल तत्काल एकताभन्दा पनि आपसी विश्वास निर्माण र चुनावी सहकार्यलाई प्राथमिकता दिन चाहिरहेका छन् ।

यसर्थ, आगामी स्थानीय तहको निर्वाचन एमाले र नेकपाबीचको सम्बन्धका लागि महत्त्वपूर्ण राजनीतिक परीक्षण बन्ने देखिएको छ । चुनावी तालमेल सफल भएमा पार्टी एकताको बहसले थप गति लिन सक्नेछ भने परिणाम प्रतिकूल आएमा सहकार्यसमेत प्रभावित हुन सक्नेछ ।

प्रकाशित मिति: १९ कार्तिक २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com