एजेन्सी । भारतका रक्षामन्त्री राजनाथ सिंह र अमेरिकी युद्धमन्त्री पिट हेगसेथले शुक्रबार मलेसियाको राजधानी क्वालालम्पुरमा ऐतिहासिक १० वर्षे ‘भारत–अमेरिका प्रमुख रक्षा साझेदारी ढाँचा’ मा हस्ताक्षर गरेका छन् ।

दुई देशबीच बढ्दो रणनीतिक सहकार्यलाई बलियो बनाउने उद्देश्यले गरिएको यो सम्झौताले भारत–अमेरिका रक्षा सम्बन्धलाई नयाँ युगतर्फ अग्रसर गराउने बताइएको छ ।

advertisement

सम्झौतापछि अमेरिकी युद्धमन्त्री हेगसेथले आफ्नो सामाजिक सञ्जाल एक्समा लेख्दै भारतसँगको सम्बन्ध ‘पहिला कहिल्यै यति बलियो नभएको’ उल्लेख गरे। उनले उक्त सम्झौतालाई ‘क्षेत्रीय स्थिरता र प्रतिरोधका लागि आधारशिला’ भन्दै दुवै देशबीचको रक्षा साझेदारीले इन्डो–प्यासिफिक क्षेत्रमा शान्ति र सुरक्षालाई सुदृढ बनाउने विश्वास व्यक्त गरे ।

हेगसेथका अनुसार नयाँ रक्षा ढाँचाले समन्वय, सूचना आदानप्रदान र प्रविधिक सहयोगलाई अझ विस्तार गर्नेछ । उनले भने, ‘हामीले हाम्रो सहकार्य, सूचनात्मक साझेदारी र प्राविधिक तालमेललाई नयाँ स्तरमा पुर्‍याउँदैछौँ । भारतसँगको हाम्रो रक्षा सम्बन्ध अब सबैभन्दा बलियो चरणमा पुगेको छ ।’

भारतीय रक्षामन्त्री सिंहले पनि उक्त भेटवार्तालाई ‘फलदायी’ भन्दै १० वर्षे सम्झौता ऐतिहासिक उपलब्धि भएको बताए । उनले एक्समा लेखे, ‘मलेसियामा अमेरिकी समकक्षी पीट हेगसेथसँग फलदायी भेटवार्ता सम्पन्न भयो । हामीले ‘फ्रेमवर्क फर द युएस–इन्डिया मेजर डिफेन्स पार्टनरसिप’ नामक १० वर्षे सम्झौतामा हस्ताक्षर गर्‍यौँ, जसले हाम्रो बलियो साझेदारीमा नयाँ युगको सुरुआत गर्नेछ ।’

रक्षामन्त्री सिंहले यो ढाँचाले भारत–अमेरिका रक्षा सम्बन्धको सम्पूर्ण दायरालाई स्पष्ट नीतिगत दिशा प्रदान गर्ने बताए । उनका शब्दमा, ‘यो हाम्रो बढ्दो रणनीतिक अभिसरणको प्रतीक हो र साझेदारीको नयाँ दशकको सुरुआत हो । रक्षा क्षेत्र हाम्रो द्विपक्षीय सम्बन्धको प्रमुख स्तम्भका रूपमा रहिरहनेछ, जसले स्वतन्त्र, खुला र नियममा आधारित अन्तर्राष्ट्रिय व्यवस्था सुनिश्चित गर्न मद्दत पुर्‍याउनेछ ।’

क्वालालम्पुरमा आयोजित आसियान–भारत रक्षा मन्त्रीहरूको अनौपचारिक बैठकको अवसरमा दुवै मन्त्रीबीच भेटवार्ता भएको हो । आगामी नोभेम्बर १ मा हुने आसियान रक्षा मन्त्रीहरूको बैठक (एडिएमएम प्लस) अघि यो अनौपचारिक भेट आयोजना गरिएको थियो ।

रक्षामन्त्री सिंहले भ्रमण अघि नै आसियान–भारत बैठकको उद्देश्य आसियान सदस्य राष्ट्रहरू र भारतबीचको रक्षा तथा सुरक्षा सहयोगलाई सुदृढ पार्नु र भारतको ‘एक्ट इस्ट नीति’लाई थप अघि बढाउनु हो भनेका थिए ।

दुई देशका उच्च अधिकारीबीचको यो भेटवार्ताले भारत–अमेरिका रक्षा सहयोगको निरन्तर गतिलाई झल्काउँछ र इन्डो–प्यासिफिक क्षेत्रमा क्षेत्रीय स्थिरता, शान्ति र रणनीतिक सहकार्यका लागि दुवै राष्ट्रको साझा प्रतिबद्धतालाई पुनः पुष्टि गर्दछ ।

प्रकाशित मिति: १४ कार्तिक २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com