काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय समितिको बहुमतको निर्णयले माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेपछि त्यसमा असन्तुष्ट अल्पमतमा रहेका नेता कार्यकर्तालाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले एक बक्तव्य जारी गरे।

यसअघि नै विभिन्न कार्यक्रममा ओलीले एमाले फर्किनका लागि आह्वान समेत गरेका थिए। उनले जारी गरेको वक्तव्यलाई एमाले सचिवालयले भित्राउने भएको छ।

advertisement

समाजवादीका सम्मानित नेता झलनाथ खनालसहितका एक दर्जन नेता एमालेमा फर्किन सक्छन्? या ओलीले फर्काउने कोशिश गर्लान्? फर्किएको या फर्काएको खण्डमा एमालेभित्रको शक्ति समीकरण कस्तो होला? ओली त्यसमा राजी होलान्? अनेक प्रश्न पनि उठेका छन्।

एमाले केन्द्रीय समितिले मंसिरको २७ देखि ११औं महाधिवेशन गर्ने निर्णय गरेको अवस्थामा खनाललगायतका नेतालाई एकीकरण प्रक्रियामा ल्याउँदा ओलीको तेस्रो कार्यकालको अध्यक्ष बन्ने सपनामा कति धक्का होला? यो पनि एक प्रश्न बनेको छ।

जबकि ओलीमाथि चुनौती हुने देखिएपछि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई नै विधान महाधिवेशनमा बर्जित गरियो भने अध्यक्षको उम्मेदवार हुन नदिने रणनीतिक निर्णय पनि भैसकेको छ।

तेस्रो कार्यकालको अध्यक्षका लागि अभ्यास गरेका ओलीले प्रतिस्पर्धी हुने देखेपछि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई नै खतरा देखेका थिए। यसपछि उनले भण्डारीको सदस्यता नै नविकरण गर्न रोक लगाए। ओलीले भण्डारीलाई आगामी महाधिवेशनको अध्यक्षको प्रतिस्पर्धी देखेर यस्तो निर्णय गराइरहेका बेला एमालेको एक कार्यकाल अध्यक्षता चलाएका झलनाथ खनाललाई भित्राउन जोखिम ठान्न सक्ने स्वभाविक अनुमान गर्न सकिन्छ।

किनभने ओलीसँगको असन्तुष्टिका कारण नै माधवकुमार नेपालसँग पार्टी विभाजनका क्रममा पुगेका खनाल एमाले फर्किए ओलीइतर समूहका नेता वा भण्डारीलाई नै बलियो बनाउनतिर लाग्न सक्ने खतरा पनि स्वभाविक आँकलन हो। तर खनालले जनताको बहुदलीय जनवाद छाडे एकता हुन सक्ने बताएका कारण ओलीकै कित्तामा उभिन सक्ने अनुमान पनि गरिन्छ। पछिल्लो पटक ओलीले नै जनताको बहुदलीय जनवादलाई छाड्न खोजिरहेको देखिन्छ।

प्रकाशित मिति: १५ कार्तिक २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com