काठमाडौं । काठमाडौं महानगरपालिकाले वडा नम्बर ५ सानो गौचरण खेलकुद मैदानमा अवैध रूपमा बनाइएका संरचनाहरू भत्काउन सुरु गरेको छ।
नगर प्रहरीका अनुसार, महानगर प्रहरी बलले डोजरको सहायताले जिल्ला खेलकुद विकास समितिद्वारा बनाइएका संरचना भत्काउन थालिएको हो। निरीक्षक प्रकाश पण्डितले भने, ‘यहाँ १७ वटा सटरसहित पक्की घरहरू रहेका थिए। आजबाट भत्काउने काम सुरु भएको हो र पाँच दिनभित्र सबै हटाइसक्ने योजना छ।’
५ नम्बर वडाका वडाध्यक्ष विरेन्द्र प्रजापतिले भने, सानो गौचरणलाई राष्ट्रिय स्तरको रङ्गशालामा रूपान्तरण गर्ने योजनाका कारण अनधिकृत संरचना हटाउने निर्णय गरिएको हो।
उनी भन्छन्, ‘यहाँ खेलकुद विकास समिति र विभिन्न क्लबहरूले सटर बनाएर भाडा उठाउन थालेका थिए, जसले विवाद सिर्जना गरिरहेको थियो। अब महानगरपालिकाले आफ्नै प्यारापिटसहितको स्टेडियम निर्माण गर्ने भएकाले छलफलपछि भत्काउने कार्य सुरु गरिएको हो।’
यो कदमले आगामी राष्ट्रिय स्तरको खेलकुद संरचना निर्माणतर्फ तयारी भएको संकेत दिएको छ।
प्रकाशित मिति: २१ कार्तिक २०८२, शुक्रबार













प्रतिक्रिया