काठमाडौं । नेकपा एमालेका नेताहरूले प्रधानमन्त्री सुशीला कार्कीसँग छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा भएको छलफल आगामी निर्वाचनकै विषयमा केन्द्रित बनेको सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।
छलफलका क्रममा प्रधानमन्त्रीले एमालेलाई निर्धारित चुनाव (फागुन २१)मा भाग लिन आग्रह गरेको र एमालेले आफूहरू जनमतसँग नभाग्ने बताएको खरेलले जानकारी दिए । एमाले नेताहरूले चुनावका लागि एमाले बाधक नबन्ने बताएको जानकारी दिँदै मन्त्री खरेलले निर्वाचनको विषय तथा सरकारका विषयमा एमालेभित्र रहेको शंसय आजका दिनदेखि हटेको पनि दावी गरे ।
छलफलमा एमाले नेताहरूले वर्तमान सरकारलाई अवैधानिक नभनेको बताउँदै मन्त्री खरेलले संसद पुनर्स्थापनाका विषय अदालतमा विचाराधीन रहेकाले त्यो विषयमा एमाले नेताहरू र सरकारका प्रतिनिधिले केही नबोलेको पनि उनले सुनाए ।
सरकारसँग छलफल गर्न एमाले महासचिव शङ्कर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र विघटित प्रतिनिधिसभाका सदस्य एवं पूर्व प्रमुख सचेतक महेश बर्तौला पुगेका थिए ।
एमाले नेता महेश बर्तौलाले पनि प्रधानमन्त्रीले चुनावी वातावरण बनाउन सघाउन आग्रह गरेको बताउँदै आफूहरूले अध्यक्ष केपी शर्मा ओलीलाई स्थानहद गरेर घोषणा गरिएको चुनावको औचित्य नभएको तर्क गरेको बताए ।
छलफलमा भएको कुराकानी सुनाउँदै उनले भने, ‘पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्थानहद गरेर सरकार आफैँ निर्वाचनको वातावरण बनाउन चाहिरहेको छैन भन्ने पुष्टि भएको छ । लोकप्रिय मत प्राप्त गरेको पार्टीको अध्यक्षलाई हिँडडुल नै गर्न नपाउनेगरी रोक लगाइनुलाई पार्टीले गम्भीर रूपमा लिएको र यसले चुनावी वातावरण बनाउन नसक्ने कुरा जानकारी गराइएको हो ।’
बर्तौलाले एमाले जनतामाँझ गएर जनताबाट चुनिने कुरामा कहिल्यै विमति नराख्ने भए पनि यो सरकारको वैधतामाथि नै एमालेले पहिलोपटक प्रश्न उठाएका हुँदा एक्लै हुँदा पनि प्रश्न उठाइरहने बताएको जानकारी दिए ।
समग्रमा प्रधानमन्त्रीले निर्वाचन गराउन एमालेको साथ खोजेको बताउँदै बर्तौलाले आफूहरूले एमालेका नेतालाई रोकेर चुनाव गराउन सम्भव नभएको तथा ढुक्कसँग राजनीतिक गतिविधिमा संलग्न हुने वातावरवण बनाउन सरकारलाई सुझाव दिएको जानकारी दिए ।
प्रकाशित मिति: ११ मंसिर २०८२, बिहिबार













प्रतिक्रिया