काठमाडाैं । जलस्रोत तथा ऊर्जा, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकासमन्त्री कुलमान घिसिङले विराटनगरस्थित कोशी अस्पतालका निर्माणाधीन भवनहरू तोकिएको समयसीमाभित्रै सम्पन्न गर्न निर्माण व्यवसायीलाई कडाइका साथ निर्देशन दिएका छन्।
आइतबार अस्पताल निरीक्षणका क्रममा मन्त्री घिसिङले निर्माण कार्यमा देखिएको ढिलाइप्रति असन्तुष्टि जनाउँदै बिरामीको बढ्दो चापलाई ध्यानमा राखी समयमै काम सक्नुपर्नेमा जोड दिए। उनले अस्पताल प्रशासन र निर्माण कम्पनीद्वयलाई तत्काल कामको गति बढाउन आदेश दिएका हुन्।
संघीय सहरी विकास तथा भवन निर्माण कार्यालय विराटनगरका अनुसार दुई अर्ब ४५ करोड लागतमा निर्माण भइरहेका ११ तले भवनको करिब ३५ प्रतिशत मात्र काम सम्पन्न भएको छ। त्यस्तै ३८ करोड लागतको चार तले भवनको ६० प्रतिशत काम मात्रै सकिएको छ।
निर्माण व्यवसायी केसी तथा रमण कन्स्ट्रक्सनले करिब चार वर्षअघि निर्माण सुरू गरेका यी भवनहरू सम्झौताअनुसार यसै वर्षभित्र अस्पताललाई हस्तान्तरण गर्नुपर्ने रहेको छ। तर ढिलाइबारे गुनासो बढेपछि मन्त्री घिसिङ स्वयं स्थलमा पुगेका हुन्।
अस्पताल प्रमुख डा. रुणा झा र भवन निर्माण कार्यालयका डिभिजनल इन्जिनियर सुरेन्द्र साहले अस्पतालको वर्तमान अवस्था, सेवा–सुविधा र निर्माण प्रगतिबारे मन्त्री घिसिङलाई विस्तृत जानकारी गराएका थिए।
प्रकाशित मिति: १४ मंसिर २०८२, आइतबार













प्रतिक्रिया