काठमाडौँ । ललितपुर महानगरपालिका–१३ स्थित एकान्तकुनामा पिकअप भ्यानको ठक्करबाट एक पैदल यात्रुको ज्यान गएको छ। गए राति यातायात कार्यालय अगाडि एकान्तकुना–सातदोबाटो सडक खण्डमा प्रदेश–३–०१–०२४ च ९६७४ नम्बरको पिकअपले सडक काट्दै गरेकी करिब ४० वर्षीया महिलालाई ठक्कर दिएको हो।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार ठक्करपछि ती महिला विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०१–०३१ च ४०४२ नम्बरको निजी कारसँग ठोक्किन पुग्दा घटनास्थलमै मृत्यु भएको छ।

advertisement

दुर्घटनापछि पिकअप रोकिए पनि त्यसको पछाडिबाट आएका दुई वटा मोटरसाइकल आपसमा ठोक्किएका छन्। ना ५७ प ३९२१ र प्रदेश–२–०२–००४ प ७२४६ नम्बरका मोटरसाइकल पिकअपको पछाडिबाट ठोक्किँदा ना ५७ प ३९२१ नम्बरका चालक, रौतहट इशनाथ नगरपालिका–३ का अनुराग प्रसाद कुशवाह घाइते भएका छन्।

घटनामा संलग्न पिकअप चालक सिन्धुलीको सुनकोसी गाउँपालिका–६ का १९ वर्षीय हेमराज विक, निजी कार चालक २८ वर्षीय सुशान्त महर्जन र ७२४६ नम्बरको मोटरसाइकल चालक धनुषा घर भएका १९ वर्षीय सुमित शर्मालाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १७ मंसिर २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com