काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले नेपालमा १६ वर्ष उमेर पुगेका युवालाई औपचारिक रूपमा काम गर्न सक्ने व्यवस्था मिलाउन कानून परिमार्जन गर्नुपर्ने माग गरेका छन्।
बुधबार सिंहदरबारमा बसेको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनले धेरै देशहरूले १६ वर्षमै श्रम बजारमा प्रवेश गर्ने व्यवस्था गरेको उल्लेख गर्दै नेपालले पनि त्यही व्यवस्था अवलम्बन गर्नुपर्ने बताएका हुन्।
गौतमका अनुसार, नेपालमा १८ वर्ष पुगेपछि मात्र काम गर्न मिल्ने कानुनी प्रावधानले युवाहरूको अवसर सीमित भएको छ। “अमेरिकालगायत धेरै देशमा १६ वर्षमै काम गर्न पाइन्छ। हामीले पनि यो सीमा परिमार्जन गर्नुपर्छ,” उनले भने।
देशभरका लाखौँ युवा विदेशी रोजगारमा रहेर पठाएको रकमले अर्थतन्त्र चलिरहेको उल्लेख गर्दै उनले स्वदेशमै रोजगारी सिर्जना गर्ने नीति आवश्यक रहेको बताए। “करीब ६० लाख युवा विदेशमा छन्। उनीहरूले पठाएको पैसा नै देशको ठूलो आधार बनेको छ, गौतमले भने।
उनले ऋण मात्र बढाउनेभन्दा सरकार रोजगार सिर्जना र युवा उपयोगी वातावरण बनाउन केन्द्रित हुनुपर्ने टिप्पणी गरे।
प्रकाशित मिति: १७ मंसिर २०८२, बुधबार













प्रतिक्रिया