काठमाडौं । प्रधानमन्त्री सुशील कार्कीले भ्रष्टाचारविरुद्ध सरकारले सुरु गरेको कदम कुनै पनि परिस्थितिमा नरोकिने स्पष्ट गरेकी छन्। जेन–जी आन्दोलनको मर्मअनुसार सुशासन र चुनाव तयारी समानान्तर रूपमा अघि बढिरहेको उनले बताइन्।
सिंहदरबारमा प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष सुदन किराती नेतृत्वको टोलीसँग भेट्दै प्रधानमन्त्री कार्कीले युवाको बलिदानले उत्पन्न गरेको परिवर्तनलाई परिणाममा रूपान्तरण गर्नु सरकारको दायित्व भएको उल्लेख गरिन्।
भ्रष्टाचार छानबिनका लागि अख्तियार, सीआईबी र सम्पत्ति शुद्धीकरण विभागजस्ता संरचना पर्याप्त रहेको बताउँदै उनले थप आयोग आवश्यक नपर्ने टिप्पणी गरिन्। “दलीय दबाब हटाएर ती निकायलाई स्वतन्त्र रूपमा काम गराउनै अहिलेको आवश्यकता हो,” उनले भनिन्।
कार्कीले ठूला र प्रभावशाली व्यक्तिहरू संलग्न भएका केही मुद्दामा सम्बन्धित निकायले कडा कदम चाल्न थालेको दाबी गरिन्। देशको प्रगतिमा अत्यधिक दलीयकरण ठूलो बाधक भएको उनको भनाइ थियो।
आगामी निर्वाचनमा युवालाई व्यापक रूपमा संसदमा ल्याएर परिवर्तनलाई संस्थागत गर्नुपर्ने धारणा पनि प्रधानमन्त्रीले राखिन्।
भेटका दौरान अध्यक्ष किरातीसहित प्रतिनिधिमण्डलले जेन–जी आन्दोलनका मागहरू छिटो सम्बोधन गर्न सरकारलाई आग्रह गरे। उनीहरूले आन्दोलनकारीमाथि भइरहेको धरपकड र केही दलले गुण्डागर्दी समूह परिचालन गरेको दाबी गर्दै त्यस्ता गतिविधिले प्रतिकारको अवस्था सिर्जना गर्न सक्ने चेतावनी दिए।
प्रकाशित मिति: १८ मंसिर २०८२, बिहिबार













प्रतिक्रिया