काठमाडौं ।नेकपा (एमाले)को ११ औँ महाधिवेशनको उद्घाटन समारोहमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री कबिन्द्र बुर्लाकोटीले शुभकामना मन्तव्य दिँदै गर्दा कार्यकर्ताहरूले हो–हल्ला गरेका छन्।

शनिबार दिउँसो सल्लाघारी मैदानमा मन्तव्य राख्ने क्रममा बुर्लाकोटीले तत्कालीन सरकारले रास्वपा सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधेको आरोप लगाएपछि उपस्थित एमाले कार्यकर्ताहरूले हुटिङ गर्दै विरोध जनाएका हुन्।

महामन्त्री बुर्लाकोटीले आगामी निर्वाचन समयमै गराएर लोकतन्त्रलाई सही दिशामा ल्याउन एमाले पछि नहट्ने विश्वास व्यक्त गर्दै त्यसका लागि राष्ट्रिय दलहरूले जिम्मेवार भूमिका निर्वाह गर्ने अपेक्षा रहेको बताए।

त्यसपछि उनले सहकारी रकम अपचलनको आरोपमा रवि लामिछाने पुर्पक्षका लागि थुनामा रहेको विषय उठाएका थिए। कुनै ठोस प्रमाण पेस हुन नसकेको र संसदीय विशेष छानबिन समितिको प्रतिवेदनले समेत संलग्नता नदेखाएको अवस्थामा पनि तत्कालीन सरकारले अत्यधिक फौजदारी अभियोजन गरेको उनको भनाइ थियो। उनले ठूला बिगोसहितका आरोप लागेका अन्य नेताहरू भने एक दिन पनि हिरासतमा नबसी न्यून धरौटीमा रिहा भएको उदाहरण दिँदै यसलाई राजनीतिक प्रतिशोधको संज्ञा दिएका थिए।

उनको उक्त अभिव्यक्तिपछि मैदानमा उपस्थित एमाले कार्यकर्ताहरूले हुटिङ गर्दै असन्तुष्टि जनाएका थिए।

उल्लेखनीय छ, नेपाली कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारको समयमा संसदीय विशेष छानबिन समिति गठन गरिएको थियो। सो समितिले सहकारी ठगी प्रकरणमा रवि लामिछानेसहितविरुद्ध मुद्दा चलाउन सिफारिस गरेपछि उनीविरुद्ध मुद्दा दायर गरिएको थियो।

प्रकाशित मिति: २७ मंसिर २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com