काठमाडौँ । भक्तपुरको सल्लाघारीमा नेकपा (एमाले) को एघारौँ राष्ट्रिय महाधिवेशन चलिरहँदा सामाजिक सञ्जालमा भाइरल भएको एक तस्बिर प्रविधिको प्रयोग गरी छेडखानी गरिएको (Photo Manipulated) भएको तथ्य फेला परेको छ।

मैदानभरि मानिसको अत्यधिक भीड देखिने उक्त तस्बिरलाई “एमाले महाधिवेशनस्थलको वास्तविक दृश्य” भन्दै एमाले नेता–कार्यकर्तादेखि पार्टी निकट व्यक्तिहरूले प्रचार गरेका छन्। तर ‘तथ्य जाँच’ र डिजिटल विश्लेषण गर्दा उक्त तस्बिर वास्तविक अवस्थासँग मेल नखाने कृत्रिम रूपमा बढाइएको भीड भएको पुष्टि भएको छ।

advertisement

शनिबार भक्तपुरको सल्लाघारीमा आयोजित महाधिवेशनको उद्घाटन सत्रको तस्बिरमा गुगलको एआई टुल ‘जेमिनाई’ प्रयोग गरी कृत्रिम भिड थपेको तथ्य बाहिर आएको हो ।

उक्त तस्बिर शनिबार दिउँसो करिब २ बजेदेखि सामाजिक सञ्जालमा देखिन थाल्यो। सबैभन्दा पहिले २ बजेर ७ मिनेटमा ‘बचन राज जोशी’ नामक फेसबुक प्रोफाइलबाट पोस्ट भएको पाइन्छ।

त्यसपछि केही घण्टामै एमालेका उच्च तहका नेता तथा अन्य थुप्रै कार्यकर्ता देखी एमाले निकट प्रेस संगठनका अध्यक्ष गणेश पाण्डे, एमाले नेता महेश बस्नेत सम्मले तस्बिर फैलाएको देखिन्छ। तर, पछि अध्यक्ष पाण्डेले भने उक्त तस्बिर सामाजिक संजालबाट हटाए।

सार्वजनिक भएको उक्त सम्पादित तस्बिरमा एआईको प्रयोगका कारण मञ्च र आसपासको भौतिक संरचना बाङ्गोटिङ्गो र अस्वाभाविक देखिन्छ । साथै, थपिएका मानिसहरूको आकृति समेत स्पष्ट र स्वाभाविक छैन । वास्तविक फोटोमा ‘प्रम्प्ट’ दिएर भिड बढाउन खोज्दा एआईले तस्बिरलाई अस्वाभाविक बनाइदिएको हो ।
त्यसमा सल्लाघारीको दृश्यसँग नमिल्दो र वास्तविकभन्दा निकै बढी मानिसको उपस्थिति छ। जसमा एआईको प्रयोग गरिएको छ।

दाबी : ‘सल्लाघारीमा जनसागर उर्लिएको’ — भ्रामक
✔️ तथ्य : तस्बिर AI/Photo Manipulation प्रयोग गरी भीड कृत्रिम रूपमा बढाइएको —सत्य

प्रकाशित मिति: २७ मंसिर २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com